कालोबजारी भए सूचना दिनुस्
कोहलपुर – कोहलपुर नगरपालिकाले कोरोना भाइरसको त्रासलाई मध्यनजर गर्दै बजारमा दैनिक उपभोग्य बस्तु, औषधीजन्य तथा अत्यावश्यक बस्तु तथा सेवाहरुको कृत्रिम अभाव तथा कालोबजारी नगर्न अपिल गरेको छ ।
उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक सञ्जु चौधरीले अपिल जारी गर्दै कालोबजारी गरेको पाइएमा कारबाही हुने चेतावनी दिनु भएको हो । अपिलमा भनिएको छ, कोरोना भाइरसको त्रासलाई मध्यनजर गर्दै हाल बजारमा दैनिक उपभोग्य बस्तु, औषधीजन्य सामाग्रीहरुलगायत अन्य अत्यावश्यक बस्तु तथा सेवाको कृत्रिम अभाव तथा कालोबजारी नगर्न नगराउन हुन सबै सरोकारवाला पक्षमा हार्दिक अपिल गर्दछौं । मानवीय रुपमा सहयोग गर्नुपर्ने बेलामा समेत यस्तो अमानवीय कार्यमा संलग्न हुने जो कोहीलाई कानूनी कारबाहीको दायरामा ल्याइने व्यहोरासमेत सबैमा जानकारी गराइन्छ ।’
अपिलमा अगाडि भनिएको छ, हाल बजारमा कोरोना भाइरसलाई जोडेर भएका अनर्गल तथा भ्रामक प्रचारमा लाग्ने, बजारमा अत्यावश्यक सामाग्रीको कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्ने कार्य भएमा नगरपालिकालाई सूचना प्रदान गरी सहयोग हुन सबैमा अनुरोध गर्दै कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका उपायहरु अविलम्बन गर्नु हुन र भयभीत नहुन सबैमा अनुरोध गर्दछु ।’
स्थानीय प्रशासनले भारतीय शहरमा जानमा कडाई गरेपछि सीमावर्ती बजार भएकाले यहाँ अत्यावश्यक बस्तुको कालोबजारी हुन सक्ने आकलनका बीचमा कोहलपुर नगरपालिकाले सार्वजनिक अपिल जारी गरेको छ । नेपालगञ्जलगायत अन्य पालिका पनि यसतर्फ सचेत हुनु जरुरी देखिन्छ ।