ज्वरो आएका भारतीय फिर्ता, नेपाली भेरीमा

नेपालगञ्ज – जमुनाहा नाकामा रहेको हेल्थ डेस्कले नेपाल प्रवेश गर्न थालेका उच्च ज्वरोका बिरामी एकजना भारतीय नागरिकलाई फिर्ता गरेको छ ।
एक सय तीन डिग्री ज्वरो आएका भारतका निराजन लोध नेपाल प्रवेश गर्दै थिए । जमुनाहामा रहेको हेल्थ डेस्कका कर्मचारीले तापक्रम नापेपछि लोधलाई भारत फिर्ता गरिदिएका छन् । नेपालगञ्ज हुँदै कैलाली जान थालेका लोध मुख्य नाकाबाट फिर्ता भएका छन् । तर, नजिकैका छोटी नाकाहरुमा जाँच र निगरानी नरहेकाले त्यहाँबाट भित्रिने संभावना देखिन्छ । छोटी नाकाबाट हुने निर्वाध आवतजावतलाई स्थानीय प्रशासनले ध्यान दिन सकेको छैन ।
त्यस्तै, भारततिर जान थालेका बाँकेकी एक बालिकालाई एक सय दुई डिग्री ज्वरो रहेकाले उपचारका लागि भेरी अस्पताल, नेपालगञ्जमा पठाइएको छ । बुधबार ज्वरो आएका चार जनालाई भेरीमा पठाइएको थियो । ज्वरो आएकाजति सबैलाई कोरोनाको संक्रमण हुँदैन ।
भारतबाट उच्च ज्वरो भएका व्यक्ति आउने र नेपालतिरबाट जाने पनि त्यही प्रकारको ज्वरो भएका बिरामी नाकामा पुग्दा त्यहाँ रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी जोखिममा पर्न सक्ने संभावना देखिन्छ । रोगी, निरोगी सबै प्रकारको मानिसको जाँच गर्न बसेका उनीहरुलाई ‘सुरक्षित’ गराउन सम्बद्ध निकायले ध्यान दिनु पर्ने देखिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !