सुनसान हुँदै नाका
नेपालगञ्ज – स्थानीय प्रशासनले सवारी साधन निषेध गरेपछि जमुनाहा नाका सुनसान भएको छ ।
पैदलयात्रीलाई मात्रै जान दिइएपछि जमुनाहा सुनसान भएको हो । सधैं भीडभाड देखिने नेपालगञ्ज नाका पातालिदै गएको छ । भारतबाट काम गरेर फर्किएका नेपाली र भारत जानै पर्ने केहीमात्रै सडकमा हिडेको देखिएको छ ।
भारतबाट फर्किएकाको नाकामा ‘तापक्रम’ नाप्ने गरिएको छ । सरकारी योजना पनि नाकामा भीड कम गर्नु हो । भारतबाट फर्किएकालाई अनिवार्य जाँच्ने र यता सामान किन्न जाने भीडलाई नियन्त्रण गर्न सवारी साधन रोकिएको छ । प्रहरीले चौलिक्काचोकमा सवारी साधन रोकिरहेको छ । त्यहाँ सवारी साधनको भीड देखिन्छ । लोकल सवारी साधनहरु पनि त्यही लाइन लागेका छन् । भारतबाट हिडेर आएका यात्रुलाई सेवा दिनका लागि सवारी साधन चौलिक्कामा रोकिएका छन् ।
विश्वव्यापी रुपमा आतंक मच्चाएको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन आग्रह गरिएको छ ।