विवाहको साइत जुरेपछि …

नेपालगञ्ज – नेपालगञ्जका सबैजसो होटल तथा रेष्टुरेन्टमा बुधबार विवाहका ब्यानर झुण्डिएको थियो । बुधबार मात्रै होइन, विवाहको साइतको दिन नेपालगञ्जको होटल तथा रेष्टुरेन्टमा यस्ता ब्यानरहरु देखिने गर्दछन् ।
शहरका रेष्टुरेन्टमा वैवाहिक कार्यक्रम गर्ने चलन बढ्दै जाँदा होटल रेष्टुरेन्टमा वैवाहिक कार्यक्रमको चाप थेगी नसक्नु भएको छ । फाल्गुन महिनामा प्रशस्तै विवाहका साइत जुरेपछि नेपालगञ्ज आसपसका होटेल तथा रेष्टुरेन्टमा अधिक चहलपहल देखिन्छ ।
परम्परागत तरिकाले रातीमा विवाह गर्ने प्रचलन विस्तारै हट्दै जाँदा पछिल्लो दशकमा दिउँसो विवाह गर्ने चलन बढ्दो छ । देशमा चलेको एक दशक लामो सशस्त्र द्वन्द्वसँगै वैवाहिक समारोहको आयोजना दिवा समयमा शहर केन्द्रित हुन थालेको थियो ।
पहिले–पहिले रात्रीकालीन समयमा वैवाहिक समारोह आयोजना हुने गर्दथे । बेहुली र बेहुलाका घरमा झण्डै दुई दिन वैवाहिक समारोह चल्थ्यो । तर, समाजमा अहिले त्यो परम्मपरा विस्तारै हराउँदै गएको पाइन्छ ।
देखासिकी र होडवाजीमा पनि वैवाहिक समारोह होटेल, रेष्टुरेन्ट अनि शहर केन्द्रित हुने लहर बढेको देखिन्छ । त्यतिमात्रै नभएर वैवाहिक समारोहमा पकाइने पकवानहरुमा पनि फेरवदल भएका पाइन्छन् । खासगरी परम्परागत रोटी, अचार, कसार भन्दा पनि रेडिमेड मिष्ठान्नसँगै मदिरा वैवाहिक भोजमा अत्याधिक मात्रामा उपभोग हुन थालेको छ ।
आफ्नो गक्ष भन्दा पनि माथि वैवाहिक समारोहमा खर्च गर्ने चलन बढ्न थालेपछि कतिपय अवस्थामा केही परिवारहरु दर्घकालीन आर्थिक भारको चपेटामा पर्ने गरेका छन् । वैवाहिक समारोहमा प्रयोगमा आउने भेषभुषा र गरगहनाको प्रयोग पनि अहिले प्रतिष्पर्धात्मक देखिन्छ ।


error: यो सुविधा उपलब्ध छैन !