वडाध्यक्ष र प्रहरीलाई ‘जुठोभात’

नेपालगञ्ज – नेपालगञ्जको मुक्तिपुरस्थित साँधमार्गमा सोमबार तनाव भएको छ ।
वडा कार्यालयले बाटो फराकिलो गराउने क्रममा विवाद भएको हो । वडा कार्यालयले आफ्नो जग्गातिर बढी च्यापेको भन्दै शान्ति शर्मा (भट्ट)ले विरोध गर्नु भएको थियो । जेसिभी लिएर बाटो फराकिलो बनाउन पुगेका वडाअध्यक्ष बुद्धिसागर सुवेदीसहित प्रहरीलाई शान्तिले घरको छतबाट जुठोभात, तातोपानी, इट्टाले हान्नु भएको थियो । शान्तिका श्रीमान दामोदर र छोरीले समेत अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।
प्रहरीले बल प्रयोग गरेर दामोदर र छोरीलाई नियन्त्रणमा लिएसँगै शान्ति बेहोस् हुनु भएको थियो । प्रहरीले शान्तिलाई अस्पताल पु¥यायो भने बाबु, छोरीलाई जिल्ला प्रहरी कार्यालय लगेको थियो । वडाध्यक्ष सुवेदीले तीन मिटरको बाटो बनाउन थालेको र त्यसमा चर्को विवाद आएपछि ढाई मिटरको गराउन खोज्दा पनि दामोदर भट्टको परिवारबाट अवरोध सिर्जना भएको बताउनुभयो ।
त्यो बाटो बढाउने क्रममा चार पटक मुद्दा परिसकेको छ । वडाध्यक्ष सुवेदी आफै खटिएर बाटो बनाइरहदा दामोदर र छोरी प्रहरी कार्यालयमा तथा शान्ति अस्पतालमा हुनुहुन्थ्यो । वडाध्यक्ष सुवेदीले पटक–पटक सहमतिको प्रयास गर्दा पनि हुन नसकेको बताउनुभयो । दामोदर भट्टले आफ्नोतिर च्यापेर बाटो फराकिलो बनाइएको बताउनु भएको छ ।
वडा कार्यालयको अनुरोधमा वडा प्रहरी कार्यालयको टोली त्यहाँ पुगेको थियो । प्रहरीले बल प्रयोग गरेपछि मात्रै बाटो बनेको छ । प्रहरीले नियन्त्रणमा लिइएका बाबु र छोरीलाई बनेको बाटो नबिगार्ने शर्तमा छोडेको जनाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !