सरकारी जग्गाको संरक्षण गर्न मेयरको निर्देशन

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले नगरभित्र सञ्चालनमा रहेका विकास निर्माणका कामको स्थलगत अनूगमन गरि समस्या देखिएका स्थानमा समाधानका लागि पहल थाल्नु भएको छ ।
मेयर राणा सोमबार नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर ३ स्थित रानीतलाउ नजिकै रहेको सार्वजनिक जग्गाको स्थलगत अनुगमन गर्नुभयो ।
मेयर राणाले स्थानीय जग्गाधनीलाई सडक फराकिलो बनाउन सहयोग गर्न आग्रह गर्नुभएपछि स्थानीय बासिन्दा नृदिपकुमार श्रेष्ठले सडक फराकिलो गर्न आप्mनो निजी जग्गा उपलब्ध गराउन तयार हुनुभयो । सो अवसरमा मेयर राणाले विकासको काममा स्थानीय बासिबाट निरन्तर सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।
वडा अध्यक्ष मोहम्मद अयुव सिद्धिकीसहित ईञ्जिनियर सुरज शर्मा, नक्सा शाखाका पवन भट्ट र नवराज अधिकारी मेयर राणाको साथमा रहनुभएको थियो ।
सो स्थानमा आधारभुत स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि वजेट विनियोजन भइसकेको छ । वडा अध्यक्ष सिद्धिकीले वडा कार्यालयको भवन समेत सोही स्थानमा निर्माण गरिने जानकारी दिनुभयो । ६ कठ्ठा बढि जग्गा रहेको सो स्थानमा बाल उद्यान निर्माण गर्ने योजना समेत रहेको वडाअध्यक्ष सिद्धिकीले जानकारी दिनुभयो ।
सो अवसरमा मेयर राणाले सरकारी जग्गाको संरक्षणका लागि विशेष ध्यान दिन वडा अध्यक्ष सिद्धिकीलाई निर्देशन दिनुभयो । वडा कार्यालय र स्वास्थ्य केन्द्र निर्माणका लागि सबैभन्दा पहिले पर्खाल लगाएर संरक्षण गर्न उहाँले आग्रह गर्नुभयो ।


error: यो सुविधा उपलब्ध छैन !