उद्योग सर्वेक्षण गरिदै

नेपालगञ्ज – तथ्यांक कार्यालयले उद्योगको सर्वेक्षण गर्ने तयारी गरेको छ ।
तथ्यांक कार्यालय, नेपालगञ्जले शुक्रबार यहाँ जिल्ला स्तरीय सचेतना गोष्ठीको आयोजना गरेर व्यवसायीहरुलाई त्यसबारेमा जानकारी दिएको हो । कार्यालयका प्रमुख दानबहादुर ऐडीले फाल्गुन दोस्रो सातादेखि सर्वेक्षण गर्ने बताउनुभयो ।
तथ्यांक कार्यालयले ५÷५ वर्षमा औद्योगिक गणना र १०÷१० वर्षमा सर्वेक्षण गर्दै आएको छ । यसपाली भने दुवैलाई जोडेर एकीकृत र बृहत राष्ट्रिय औद्योगिक सर्वेक्षण गरिने कार्यालय प्रमुख ऐडीले जानकारी दिनुभयो ।
सर्वेक्षणले उद्योगको अवस्था बुझिने र राष्ट्रिय नीति बनाउदा सघाउ पुग्ने विश्वास गरिन्छ । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, नेपालगञ्ज उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल बैश्य, महासचिव चिरञ्जीवी ओलीले व्यवसायीहरुले सही तथ्यांक दिएर सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
यसअघिका सर्वेक्षणमा नेपालगञ्जका व्यवसायी त्यति सहयोग नगरेको गुनासो आउने गरेको थियो । तथ्यांक कार्यालयका प्रमुख ऐडीले आफूहरुले लिने तथ्यांकसँग राजश्व आकर्षित नहुने विश्वास दिलाउनु भयो ।


error: यो सुविधा उपलब्ध छैन !