टायर बाल्ने तहमा पुग्यो आन्दोलन

नेपालगञ्ज – करमोहना गुठी रैतान नम्बरी जग्गा संघर्ष समितिले बुधबार टायर बालेर नेपालगञ्जमा प्रदर्शन गरेको छ ।
सरकारको निर्णयबिरुद्ध चरणवद्ध आन्दोलन गरिरहेका करमोहनावासीले जिल्ला प्रशासन र मालपोत कार्यालय अगाडि प्रदर्शन गरेपछि वीपीचोकमा पुगेर टायर बालेका हुन् । शान्तिपूर्ण आन्दोलन भनिएपनि बुधबारदेखि आन्दोलनले उग्ररुप लिन थालेको छ ।


सरकारले करमोहनास्थित बागेश्वरी मन्दिरको ८४ विगाह जमिन व्यक्तिको नाममा गएको भन्दै फिर्ता गर्ने निर्णय गरेपछि त्यहाँका स्थानीयले सरकारी निर्णयविरुद्ध थालेका हुन् । करमोहना गुठी रैतान नम्बरी जग्गा संघर्ष समितिले बागेश्वरी मन्दिर सञ्चालनका लागि तिरो तिर्दा सरकारले जग्गा नै उसकै भएको दावी गर्नु गलत भएको जनाएको छ ।


करमोहनावासीले १९३६ सालदेखि बागेश्वरी मन्दिरलाई तिरो तिरेका छन् । संघर्ष समितिका प्रवक्ता सन्तराम बर्माले सयौ वर्षदेखि व्यक्तिको नाममा रहेको जग्गा सरकारले मन्दिर भनेर आन्दोलनमा उत्रिन बाध्य पारेको बताउनुभयो ।
सार्वजनिक, सरकारी, गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगका सदस्य जगत देउजाको टोलीले गरेको अध्ययनपछि सरकारलाई प्रतिवेदन बुझाइएको थियो । त्यही प्रतिवेदनका आधारमा सरकारले मन्दिरको जग्गा फिर्ता गर्ने निर्णय गरेको छ भने अहिले त्यहाँको जग्गा रोक्का गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !