डेढ सय वर्षदेखि लाग्दै आएको मेला शुरु

नेपालगञ्ज – बाँकेको नरैनापुर गाँउपालिकामा विगत डेढ सय बर्षदेखि हरेक बर्ष धर्मगुरुको सम्झनामा लाग्दै आएको मेला यस बर्ष पनि बुधबारदेखि शुरु भएको छ ।
नरैनापुर गाँउपालिका वडा नम्बर २ को गंगापुर मियाँपुर्वामा शुरु भएको मेलाको संघीय सांसद महेश्वर गहतराज –अथक) र मेला आयोजक तथा नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले संयुक्तरुपमा उद्घटन गर्नुभयो ।
मेला उद्घाटन गर्दै सांसद अथकले डेढ सय बर्षदेखि लाग्दै आएको मेला आफैंमा एउटा इतिहास भएको बताउँदै यो मेला मियाँ परिवारको मात्र नभएर सबै बाँकेबासीको मेला भएको उल्लेख गर्नुभयो । सामाजिक तथा धार्मिक सद्भाव बढाउन मेलाले ठूलो भूमिका खेल्ने भन्दै उहाँले सबै मिलेर मेलालाई सफल पार्नुपर्नेमा जोड दिनुभयो ।
१८ बर्षसम्म पहाडमा तपस्या गरेर बसेका तत्कालीन धर्मगुरु खलिफा नुर अहमद शाहको सम्झनामा सन् १८५७ देखि हरेक बर्ष बसन्त पञ्चमीपछि मेला लाग्दै आएको छ । मेलामा सामूहिक भण्डारा, प्रार्थना, कव्वाली, नाच तथा जादु खेललगायत हुने गरेको छ ।
मेलामा विहीबार राति ९ बजेदेखि शुरु हुने भारत कानपुरका चर्चित कौव्वाल सरिफ परवाज तथा फैजाबादकी नेहानाजको जवाफी कौव्वाली मुख्य आकर्षण रहेको मेला आयोजक समितिका सदस्य एवम् वडा नम्बर २ का अध्यक्ष मसुद अहमद शाहले बताउनुभयो ।
कौव्वाली सुन्न सयौं मानिस आउने गर्दछन् । मेलामा बाँके, बर्दियालगायत छिमेकी मुलुक भारतको बहराइच, श्रावस्ती, गोण्डा, बलरामपुरलगायत उत्तरप्रदेश तथा गुजरातबाट समेत दर्शालुहरु आउने गरेको नरैनापुर गाउँपालिकाका अध्यक्ष शाहले बताउनुभयो । सबै धर्मका मानिसहरु पुगेर रमाइलो गर्ने र आपसी सद्भाब बढाउने यो मेलाको बिशेषता रहेको अध्यक्ष शाहले बताउनुभयो ।
मेलास्थलमा रहेको खलिफा सैयद नुर अहमद शाहको मजारप्रति दर्शालुहरुको धार्मिक आस्था रहेकाले च्यादर चढाउने, भाकल हाल्नेहरुको पनि मेलामा भीड लाग्ने गरेको छ । मेलामा दर्शकहरुलाई मनोरञ्जन गराउनका लागि भारतबाट आएका प्रसिद्ध नौटंकी नाचको आयोजना हुने गर्दछ भने नेपाल र भारतका ठूल्ठूला ब्यापारिक कम्पनीहरुको स्टलहरु समेत रहने आयोजकले जनाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !