महान्यायाधिवक्ताद्वारा बाल सुधार गृहको निरीक्षण
नेपालगञ्ज – महान्यायाधिवक्ता अग्नी खरेलले बाल सुधार गृहको स्थलगत निरीक्षण गरेका छन् ।
डुडुवा–६, आसमानपुरमा रहेको बाल सुधार गृहमा पुगेर महान्यायाधिवक्ता खरेलले त्यहाँको अवस्था हेरेका हुन् । अन्यत्रका बाल सुधार गृहमा खाजा नदिएको पाइएपछि बाँकेमा कस्तो छ भनेर महान्याधिवक्ता बाल सुधार गृहमा पुगेका थिए ।
बाँकेको बाल सुधार गृहमा पढ्ने, खेल्ने व्यवस्था मिलाइएको छ । सरकारी कोटाको शिक्षक मिलाइदिन बाल सुधार गृह प्रशासनले आग्रह गरेपछि महान्यायाधिवक्ता खरेलले प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई त्यसको व्यवस्था गरिदिन आग्रह गर्नुभयो ।
बाल सुधार गृहमा एक सय ३३ जना रहेका छन् । बाल सुधार गृहको स्थलगत निरीक्षणमा प्रमुख जिल्ला अधिकारी खड्का, एसपी वीरबहादुर ओलीलगायत पुगेका थिए । बाल सुधार गृहकी प्रमुख बिमला काउचामगर, सुरक्षा इन्चार्ज सुरेन्द्र पन्तले बाल सुधार गृहको अवलोकन गराउनु भएको थियो ।