दुई सय ५७ वटा खसी नियन्त्रणमा

नेपालगञ्ज – कोहलपुर प्रहरीले २ सय ५७ वटा खसी नियन्त्रणमा लिएको छ ।
अगैयाको जंगलमा राती ट्रकमा लोड गरिरहेको खसी प्रहरीले नियन्त्रणमा लिएको हो । रा १ ख २१८९ र रा १ ख १०९८ नम्बरको ट्रकमा खसी लोड हुँदै थियो । यी दुई ट्रकमा २ सय ९ वटा खसी लोड भइरहेको बेलामा प्रहरी पुगेको हो । ४८ वटा खसी भने पश्चिमबाट पूर्वतिर जादै गरेको बसमा थियो । बस जाँच गर्ने क्रममा कुसुमबाट ती खसी नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय, कोहलपुरका डिएसपी कुलदिप चन्दले जानकारी दिनुभयो ।
भारतबाट अवैध रुपमा ल्याइएको खसी लोड भइरहेको विशेष सूचना पाएपछि प्रहरीको टोली राती नौ बजे अगैया पुगेको थियो । प्रहरीलाई देखेपछि ट्रकचालकदेखि खसी लोड गरिरहेका व्यक्तिहरु फरार भएका थिए । प्रहरीले पछि दुई जना ट्रक चालकलाई लुकिरहेको अवस्थामा नियन्त्रणमा लिएको छ ।
कोहलपुर प्रहरीले खसी, ट्रक र चालकलाई आवश्यक कारबाहीक लागि भन्सार कार्यालयमा पठाएको छ । क्वारेन्टाइन नगरी खसी ल्याउन नपाउने नियम बनाएपछि अवैध रुपमा भित्रिने क्रममा बढेको घटनाहरुले देखाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !