मेयर सा’प जंगबहादुरको शालिक राख्ने कि ?
नेपालगञ्ज – नेपालगञ्जमा कुनै बेला दैलेखी, सल्यानी राजाले शासन गरे । कहिले तुलसीपुर स्टेटअन्तर्गत पनि रह्यो । इतिहासलाई फर्केर हेर्दा लडाईमा हुने हारजीतले सीमा हेरफेर हुन्थ्यो । नेपाली भूमि नेपालगञ्ज पनि त्यसको मारमा प¥यो । मुख्तियार भीमसेन थापाको पालामा लडाई हार्दा यो भूमि कम्पनी सरकारको अधिन गयो । श्री ३ जंगबहादुर राणाले कम्पनी सरकारलाई रिझाएर फेरि सदाका लागि नेपालगञ्ज फिर्ता ल्याए ।
यी कुराहरु इतिहास पढेकाहरुले बताउदै आएका छन् । नौलो होइन । सन् १८५७ को लखनऊ गदर दबाउन जंगबहादुरले सघाउ गरेर नयाँ मुलुक बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्ला फिर्ता ल्याएका थिए ।
नेपालगञ्जलाई जंगबहादुरले बसाएको शहर भन्ने गरिन्छ । भन्ने बेलामा जंगबहादुरले बसाएको शहर भन्ने अनि त्यही शहरमा जंगबहादुरको कुनै नामो निशानी नहुनु दुःखद होइन र ? जंगबहादुरको न यहाँ शालिक छ । न त कुनै सडकको नाम जंगे नै छ । इतिहासमा रुची राख्नेहरुका लागि अहिले यो विषय खड्किन थालेको छ । भन्नेले त राष्ट्र निर्माण गर्ने वडामहाराज पृथ्वीनारायण शाहकै कुनै चिनारी छैन भन्न सक्छन् । यो पनि नाजायक कुरा होइन । इतिहास जित्नेहरुको हुन्छ । भावी पुस्ताका लागि पनि जित्नेहरुको इतिहास जोगाइदिनु पर्छ ।
एक कार्यक्रममा साहित्यकार एवं विश्लेषक खगेन्द्र गिरी ‘कोपिला’ले नेपालगञ्जका मेयर डा. धवलशमशेर राणाको ध्यानाकर्षण गराउदै भन्नुभयो, ‘मेयर सा‘प नेपालगञ्जमा जंगबहादुरको सम्झनामा शालिक या बाटोको नाम राखिदिनुस् ।’ जंगबहादुरले नेपालगञ्जको बसोबासलाई व्यवस्थित गर्न शुरुमा सिद्धिमान राजभण्डारीलाई नेपालगञ्ज पठाएका थिए । सिद्धिमान त्यही व्यक्ति हुन्, जसले कोत पर्व, भण्डारखाल पर्वमा जंगबहादुरलाई पूर्णरुपमा साथ दिएका थिए । जंगबहादुरसँग बेलायत यात्रामा पनि गएका थिए । त्यही सिद्धिमानले नै यहाँको बस्ती विकास गरेको इतिहासमा पढ्न पाइन्छ । सिद्धिमानको पनि कुनै ठाउँमा शालिक, बाटोको नामाकरण गरिदिए के बिग्रिन्छ र ?
मेयर राणालाई पनि यो कुरा खट्केको हुनुपर्छ । तर, पुस २७ गते वडामहाराज पृथ्वीनारायणको जन्म जयन्तीमा सार्वजनिक बिदा गराउन असफल भएका मेयर राणाले भन्नुभयो, ‘वडामहाराज पृथ्वीनारायणको जन्मजयन्तीमा सार्वजनिक बिदा दिन मानेनन्, जंगबहादुरको शालिक राख्न के मान्लान् र ?’ मेयर राणाको भनाई थियो, समय काल परिस्थिति परिवर्तन हुँदै जान्छ । पहिलाको व्यक्तिलाई सम्मान गर्नुपर्छ । जित्नेको इतिहास बन्ने हो । त्यतिबेला उनीहरुले जितेका थिए । त्यो बेला त्यही ठिक थियो । अहिले फरक परिस्थिति छ । अहिले, अहिलेकै ठिक छ । इतिहासलाई बिर्सिनु भने हुँदैन ।
इतिहासलाई बचाउनु पर्छ भन्ने सबैलाई थाहा छ । तर, राजनीतिले त्यसलाई गाँजेको छ । नेपालगञ्जको त्रिभुवनचोक कै कुरा गरौं । त्रिभुवनचोक या आसपासमा पहिला जुद्धशमशेरको शालिक थियो भनिन्छ । अष्टधातुको जुद्धशमशेरको शालिक अहिले नेपालगञ्ज उपमहानगरपालिका कार्यालयमा थन्किएको छ । चोकको रौनक हराएको बेलामा त्यहाँ जुद्धशमशेरको शालिक राखिदिंदा के हुन्थ्यो भन्नेको स्वर बाक्लिदै गएको छ । कितावमा जंगबहादुर, सिद्धिमान राजभण्डारी, जुद्धशमशेरको गाथा पढ्न हुने, चोकमा उनीहरुको शालिक राख्न किन नहुने ? यो मिल्दोकुरा भएन न कि ?
जंगबहादुर कस्ता थिए । कसरी सत्तामा आएका थिए । त्यो फरक पाटो हो । नेपालगञ्जको इतिहास जान्न चाहनेहरुले जंगबहादुरको नाम उच्चारण नगरी सुखै छैन । नेपालगञ्जका लागि जंगबहादुर, सिद्धिमान राजभण्डारीले योगदान गरेको इतिहास पढिन्छ भने उनीहरुको सम्झनास्वरुप शालिक र सडकहरुको नाम राखिदिंदा राम्रै हुन्छ ।