प्लाष्टिकको सामाग्रीमाथि प्रतिबन्धको योजना

एजेन्सी – चीनले एक पटक मात्रै प्रयोग गर्न मिल्ने प्लाष्टिकका सामग्रीमाथि प्रतिबन्ध लगाउने बृहत योजना सार्वजनिक गरेको छ ।
चीन विश्वमा प्लाष्टिकका सामग्री प्रयोग गर्ने मध्ये प्रमुख देशमा पर्छ । देशभर नै पुनः प्रयोग गर्न नमिल्ने प्लाष्टिकजन्य सामग्रीमा प्रतिबन्ध लगाउने योजना चीनले ल्याएको हो ।
नयाँ योजना अनुसार सन् २०२० को अन्त्यसम्ममा प्रमुख शहरहरुमा पुनः प्रयोग गर्न नमिल्ने प्लाष्टिक झोलाहरुको प्रतिबन्ध लगाइने छ । यस्तै सन् २०२२ सम्ममा चीनका सबै शहर तथा बजारहरुमा पुनः प्रयोग गर्न नमिल्ने प्लाष्टिक झोला प्रतिबन्धित गर्ने योजना छ । यो वर्षको अन्त्यसम्ममा सबै रेस्टुरेन्टहरुमा एकपटक मात्रै प्रयोग गर्न मिल्ने स्ट्र माथि प्रतिबन्ध लाग्ने छ ।
चीनमा वर्षौँदेखि फोहोर व्यवस्थापन ठूलो समस्याका रुपमा रहँदै आएको छ । चीनको सबैभन्दा ठूलो ल्याण्डफिल्ड साइड आँकलन गरिए भन्दा २५ वर्ष पहिले नै भरिएको छ । सो ल्याण्डफिल्ड साइड १०० वटा फुटबल मैदान जत्रो छ ।
सन् २०१७ मा मात्रै चीनका शहरी घरहरुबाट २१५ मिलियन टन फोहोर संकलन भएको थियो । तर त्यसको पुनः प्रयोग वा रिसाइकको तथ्यांक भने उपलब्ध छैन ।
चीनले प्लाष्टिकजन्य फोहोरको समस्या समाधानका लागि पाँच वर्षे योजना ल्याएको हो । जस अनुसार सन् २०२५ सम्ममा एकपटक मात्रै प्रयोग गर्न मिल्ने प्लाष्टिकको बिक्रीमा पूर्ण रुपमा प्रतिबन्ध लाग्ने छ । यस्तै ०.०२५ एमएम भन्दा कम मोटाइ भएका प्लाष्टिक झोला उत्पादनमा पनि प्रतिबन्ध लाग्ने छ ।
रेस्टुरेन्टहरुले एकपटक मात्रै प्रयोग हुने प्लाष्टिकजन्य सामग्रीको प्रयोग ३० प्रतिशतले घटाउनु पर्ने छ । यस्तै सन् २०२५ भित्र रेस्टुरेन्टहरुले एकपटक मात्रै प्रयोग हुने प्लाष्टिकजन्य सामग्री निशुल्क उपलब्ध गराउन बन्द गर्नु पर्ने छ ।


error: यो सुविधा उपलब्ध छैन !