चुनाव जितिरहने ‘चुन्ना’

नेपालगञ्ज – एउटा संस्थामा लगातार चार पटक निर्वाचित । दुई पटक सदस्य अनि दुई पटक उपाध्यक्ष । टीका लगाएर होइन, चुनाव जितेर लगातार १३ वर्षसम्म नेपालगञ्ज उद्योग बाणिज्य संघमा पदाधिकारी रहनु चानचुने कुरो हुँदै होइन । त्यो व्यक्तिमा केही न केही खुबी भएरै हो ।
भनिन्छ, इज्जत, मान सम्मान पाउन गाह्रो हुन्छ । अझ त्यो भन्दा पनि गाह्रो त त्यसलाई जोगाइरहनु हुन्छ । मतदान प्रक्रियाबाट चुनिने ठाउँमा झन् मतदाताको विश्वास जितिरहनु कम्ता चुनौती नहोला । नेपालगञ्जमै संसदीय चुनावमा एक पटक जितेका वडेहस्ती अर्को पटक हारेको इतिहास छदैछ । भलै, व्यापार संघको चुनावलाई संसदीयसँग जोड्न नमिल्ला । तर, व्यापार संघको होस् वा संसदीय चुनाव, चुनाव त चुनावै हो नि । जनताले चुन्ने नै हुन् । मतदाता धेरैथोरै फरक पाटो हो ।
अहिले ठूलो कुरा गर्न खोजिएको होइन, नेपालगञ्ज उद्योग बाणिज्य संघमा अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ ले लगातार चुनाव जित्नुको राज खोजिएको हो । २०६३ सालमा सदस्य जित्दा होस् वा गएको चुनावमा उपाध्यक्ष जित्दा, चुन्नालाई माया गर्ने मतदाता घटेनन् । आखिर किन ? किनकी, चुन्ना भाषणमा भन्दा काममा विश्वास गर्छन् । आसन र भाषणलाई प्राथमिकता नदिने चुन्नाको विशेषता रहेछ । ‘म कम बोल्छु । तर, काम गरेर देखाउँछु । म नेता होइन, भाषण गर्न जान्दिन । व्यवसायिक मुद्दामा बोल्न सक्छु,’ चुन्नाले भन्ने गरेका छन् ।
२० वर्षदेखि व्यापारमा लागेका चुन्नाले पुख्र्यौली पेशा चलाउँछन्, अजिज किराना स्टोर्स । किराना पसलेको अगुवा नै हुन् उनी । व्यापार संघमा पनि काम र मुद्दामा विशेष फोकस हुने चुन्ना ‘स्टेप–स्टेप’ पार गर्दै अध्यक्षको प्रत्यासी हुन आइपुगेका छन् । आफूले काम गर्दै आएको ठाउँमा एक पटक नेतृत्व गर्ने चाहना सबैलाई हुन्छ । त्यही नेतृत्वमा पुग्न १३ वर्षदेखि निरन्तर संघको काममा खटिएका थिए चुन्ना । नेतृत्वमा पुगेर आफूले अहिलेसम्मको बटुलेको अनुभव अर्थात आफ्नो खुबी देखाउने रहर छ उनलाई ।
सामाजिक संघ संस्थामा चुन्नाको योगदान रहदै आएको छ । लायन्स क्लवहरुबाट सेवा गरिरहेका छन् । राजनीतिमा लागेर ‘बाह्र सत्तरी’ गर्न जानेकालाई भन्दा शुद्धरुपमा व्यवसायिक हितमा लागेका र काम गर्ने व्यक्तिलाई अगाडि सार्नु पर्छ भन्नेहरु बढ्दो छन् । व्यवसायिक हकहित र मुद्दामा खरो रुपमा उत्रिने मान्छे चाहिएको छ । सीमापारीको व्यापारी मोटाउने र नेपालगञ्जका दुब्लाइरहेका छन् । यसलाई उथुलपुथुल गर्नुछ । जडीबुटी निकासीदेखि प्रशोधन, नेपालगञ्जलाई गुल्जार गराउनु पर्नेछ । समसामयिक मुद्दामा व्यापार संघले पहलकदमी लिनु पर्नेछ । नेपालगञ्जमात्रै होइन, जिल्लाकै विकासे मुद्दामा अगाडि सर्नुपर्नेछ । यी सबै काम र मुद्दामा चुन्नाले लिखित प्रतिबद्धता गरिसकेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !