राष्ट्रिय सभामा शर्मा : ‘देर आए, दुरुस्त आए’

नेपालगञ्ज – ७१ वर्षका युवराज शर्मा भन्नुहुन्थ्यो, ‘राजनीतिमा दुई वटा सिद्धान्त हुन्छन्, पुस र पुल ।’ आफ्नै राजनीतिक जीवनसँग जोडेर बोल्नु भएका शर्मालाई बाँकेका कांग्रेस कार्यकर्ताले पुस त गरिरहे तर नेताहरुले पुल गरिदिएनन् । जसले गर्दा शर्मा पछाडी परिरहनु भयो ।
वि.सं. २०२५ सालमा गोरखपुरमा वीपी कोइरालालाई भेटेपछि शर्मा वीपीको सिद्धान्तप्रति आकर्षित हुनु भएको थियो । २०२८ सालमा नेविसंघमा शेरबहादुर देउवा सभापति हुँदा शर्मा उपसभापति हुनुभयो । वि.सं. २०३३ सालमा शर्मा नेपाली कांग्रेस, बाँकेको सचिव हुँदा सुशील कोइराला कार्य समिति सदस्य हुनुहुन्थ्यो । शर्मा २०४५ देखि २०४९ सालसम्म कांग्रेस, बाँकेको सभापति हुनुभयो ।
सभापति छदा नै सुशील कोइरालासँग शर्माको टकराव शुरु भयो । २०५१ सालको संसदीय निर्वाचनमा शर्मालाई टिकट दिइएन । शर्मा क्षेत्र नं. १ र २ बाट बागी उम्मेदवार बन्नुभयो । चुनाव चिन्ह साइकलले शर्मालाई पार लगाएन, लडाइदियो ।
कोइराला परिवारको पेलानले शर्मा किनारामा पर्दै जानुभयो । राजनीतिमा शर्माको त्याग र बलिदान निरन्तर थियो । पार्टीमा महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि बन्नु हुन्थ्यो ।
‘समय बलवान छ, एक दिन सबको पालो आउँछ’ प्रायः सबैले भन्ने यो उखान शर्माको जीवनमा पनि लागु भएको छ । शर्मा लुम्बिनी प्रदेशबाट माथिल्लो सदन राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनु भएको छ ।
राजनीतिमा लागेका पछिल्लो पुस्तामा छिटो माथि पुग्ने होड छ । निष्ठा र सिद्धान्तको कुरा टाढाको विषय बनेको छ । कमाउवादी सिद्धान्त हावी छ । तर, बाँकेका तीन जना जेष्ठ नागरिकले निरन्तर लागिरहेमा एक दिन सफल भइन्छ, पालो आउँछ भन्ने कुरा पुष्टि गरिदिएका छन् । ती व्यक्ति हुन्, राष्ट्रिय सभा सदस्य युवराज शर्मा, संघीय सांसद नन्दलाल रोकाय र प्रदेश सदस्य बाबुराम गौतम । यी तिनै नेता समकालिन हुन् । २०७५ सालको संघ र प्रदेशको चुनावमा एकसेएक युवा नेताले तछाडमछाड गरिरहेको बेलामा नेकपा एमालेले माक्र्सवादी सिद्धान्तका अब्बल जेष्ठ नागरिक रोकाय र गौतमलाई टिकट दिएर जिताएको थियो । त्यतिबेला निष्ठावान नेता तथा कार्यकर्ताले भन्ने गर्थे, पार्टीले ढिलो–चाडो सम्झिदो रहेछ । शर्माको हकमा पनि त्यही भएको छ । शर्माका समकालिन कांग्रेस बाँकेका पूर्व सभापति एवं शर्मा भन्दा एक वर्ष अघि २०२७ सालमा नेविसंघको उपभासपति भएका प्राज्ञ सनत रेग्मी भन्नुहुन्छ, ‘शर्माको भाग्य बलियो रहेछ । ढिलै भएपनि माननीय हुने मौका पाउनुभयो ।’
पार्टीमा सधैं पेलिएका शर्माको प्रतिक्रिया थियो, ‘देर आए, दुरुस्त आए । अर्थात ढिलै भएपनि राम्रै भयो ।’


error: यो सुविधा उपलब्ध छैन !