करिव एक किलोमिटरमा आठ वटा संस्थाको चेकजाँच
नेपालगञ्ज – नेपालगञ्जको जमुनाहा नाकामा मानव बेचबिखनविरुद्धमा काम गर्ने संघ संस्थाको ओइरो लागेको छ । भन्सार कार्यालयदेखि जमुनाहा नाकासम्मको करिव एक किलोमिटरमा आठ वटा संघ संस्थाले चेकजाँच गर्ने गरेका छन् ।
मानव बेचबिखनको चलनचल्तीको नाका मानिने जमुनाहामा बेचबिखनविरुद्ध काम गर्ने जिल्लाका सबै संघ संस्थाले चेक प्वाइन्ट राखेका छन् । सबै संघ संस्थाले नाकामा उपस्थिति जनाएपनि खोजतलास तथा जोखिममा परेकाले दिने गरेको बयानमा यही नाकाबाट भारत पुगेको वा भारत हुँदै तेस्रो मुलुक पुगेको बताउने गर्दछन् ।
मानव बेचबिखनविरुद्धको मुद्दा संघ संस्थाको लागि विकाउ बनेकाले नाकामा अनावश्यक प्रतिस्पर्धा देखिएको छ । बेचबिखनविरुद्ध काम गर्दा ‘डोनर’ले पत्याउने र नाकामा एउटा चेक प्वाइन्ट राखेर काम गरेकोजस्तो देखाउने गरिएको छ । नाकामा सबै संघ संस्थाको चेक प्वाइन्ट हुनु अनि यही नाकाबाट महिला तथा बालबालिका जोखिमपूर्ण यात्रामा बढी निस्किनुले संघ संस्थाले खाली डोनरलाई खुशी बनाउन नाकामा बसेकोजस्तो देखिन्छ ।
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने मानव बेचबिखनविरुद्धको जिल्ला समितिले केही वर्षअघि नेपालगञ्ज नाकामा दुई वटा संघ संस्था बस्ने र अरु अन्य नाकामा जाने निर्णय गरेको थियो । त्यसको कार्यान्वयन हुन सकेन । संघ संस्था नेपालगञ्ज नाकालाई छोड्नै मानेनन् ।
यो नाकामा पहिला माइती नेपाल बसेको थियो । माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेका धेरैलाई फर्काएको र खोजतलासको निवेदन पनि माइती नेपालमा धेरै पर्ने गरेको पाइन्छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका महिला विकास शाखाका प्रमुख उपसचिव शोभा शाहले सबै संघ संस्था एउटै नाकामा केन्द्रित रहदा डुब्लिकेसन भएको र यात्रुले अनावश्यक सास्ती झेल्नु परेको बताउनुभयो । ‘नाकामा जाँच हुनु राम्रो हो । तर, सबै संघ संस्थाले एकै ठाउँमा एउटै मान्छेलाई पटक–पटक सोध्दा उसलाई अनावश्यक दुःख हुन्छ, उपसचिव शाहले भन्नुभयो, नाकामा मैले समातेको भनेर फाइदा लिने होड छ ।’
जिल्ला प्रहरी कार्यालय, बाँकेका डीएसपी मधुुसुदन न्यौपानेले नाकामा अनावश्यक देखिएको चेकजाँच गर्ने प्रतिस्पर्धालाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो । ‘जोखिमपूर्ण यात्रामा रहेकालाई रोक्न चेकजाँच गर्नुपर्छ, डीएसपी न्यौपानेले भन्नुभयो, त्यसका लागि संघ संस्थालाई व्यवस्थित गर्नुपर्छ । अन्य नाकाहरुमा पनि कडाई गर्ने व्यवस्था मिलाउनु पर्छ ।’
बाँकेमा नेपालगञ्जसँगै अन्य सात वटा छोटी नाकाहरु छन् । मानव बेचबिखनका दलालले सबै नाका प्रयोग गर्न सक्छन् । सीमावर्ती बजार रुपैडिहामा किनमेल गर्न जानेको भीड हुने भएकाले त्यसको फाइदा दलालले लिने गरेको पाइन्छ । यो नाकाबाट सिन्धुपाल्चोकका महिला भारत जान हिडेको भेटिने गर्दछ । काठमाडौंबाट नेपालगञ्ज हुँदै रुपैडिहामा तरकारी किन्न जान थालेको बहाना बनाएर महिला जोखिमपूर्ण यात्रामा निस्किने गरेको कयौलाई फर्काइएको छ । यो नाकाबाट वर्षेनी पाँच हजार महिला तथा बालबालिकालाई जोखिमपूर्ण यात्रामा रहेको आशंकामा घर फिर्ता पठाउने गरिन्छ । एक हजार आसपासमा खोजतलासको निवेदन पर्ने गर्दछ ।
डोनरलाई खुशी बनाउन एउटा घुम्ती या सटर राखेर बसेका संघ संस्थालाई व्यवस्थित गराउन जरुरी रहेको छ । कतिपय संघ संस्था त बोर्ड राखेर मात्रै बसेका छन् । १० देखि ४ बजेसम्म डिउटी गर्ने गर्दछन् । को आए र को गएसँग उनीहरुको मतलव रहदैन । पहाडबाट आएका सोझा महिलालाई सबैजसोले सोधेको पाइन्छ ।