कसले हान्यो ११ वर्षीय बालकलाई चक्कु ?
नेपालगञ्ज – बाँकेको खजुरामा ११ वर्षीय बालकलाई चक्कु प्रहार भएको छ ।
खजुरा गाउँपालिका वडा नं. ५, उढरापुरमा ११ वर्षीय बालक ध्रुव काँदुलाई चक्कु प्रहार भएको हो । कानको तल चक्कु प्रहार गरिएका बालक बेहोस रहेका छन् ।
गएराती ८ बजेतिर बुवा भएको ठाउँमा पुगेर घर फर्किने क्रममा बालकलाई चक्कु प्रहार भएको थियो । धु्रवका बुवा कुखुराको फार्ममा राती बस्ने गर्दथे । बालक बुवा भएको ठाउँमा पुगेर घर फर्किएका बेलामा चक्कु प्रहार भएको देखिएको छ । घरका मानिसले बुवा भएको ठाउँमा होला र बुवाले घर गयो होला भनेर बालकको खोजी गरेका थिएनन् । स्थानीय मानिस विहान खेतमा परालको कुन्यू (टौवा) भएको ठाउँतिर पुग्दा बालक बेहोस् अवस्थामा भेटिएका थिए । त्यसपछि उनलाई नेपालगञ्जस्थित नर्सिङहोममा उपचारका लागि ल्याइएको छ ।
बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेको टोली घटनास्थलमा पुगेको छ । बालकलाई चक्कु प्रहार गर्नेको खोजी भइरहेको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो ।