बाँकेमा बढे संक्रमित
नेपालगञ्ज – बाँकेमा एक जना स्वास्थ्यकर्मीसहित ८५ जनालाई कोरोना पुष्टि भएको छ । भारतबाट आएका व्यक्तिलाई नाकामा जाँच गर्दा धेरै संख्यामा कोरोना देखिदै आएकोमा बिहीबार बाँके जिल्लामै ठूलो संख्यालाई कोरोना पुष्टि भएको हो ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, नेपालगञ्ज नाकामा ३ सय २९ जनाको जाँच गर्दा ४७ जनालाई कोरोना देखिएको छ । उनीहरु भारतको विभिन्न ठाउँबाट आएका व्यक्ति हुन् । भारतबाट आएका व्यक्तिलाई कोरोना जाँच्दा जाँच्दै नाकामा रहेको हेल्थ डेस्कमा कार्यरत आठ जना स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् ।
नाकामा कोरोना देखिएकालाई एम्बुलेन्समा राखेर नेपालगञ्जस्थित बाल मन्दिरमा रहेको आइसोलेसनमा ल्याएर सम्बन्धित पालिकामा पठाउने गरिएको छ ।
भारतबाट आउनेका कोरोना देखा परिरहेपनि बाँके जिल्लाका ल्याबमा कोरोनाको संक्रमित धेरै देखा परिरहेका थिएनन् । बिहीबार ९३ जनाको जाँच गर्दा एकैपटक ३८ जनामा कोरोना देखिएको छ । यो तथ्यांकले बाँकेको नाकामात्रै होइन, जिल्लाभित्र पनि कोरोना संक्रमण फैलिएको पुष्टि गरेको छ । धेरै समयपछि जिल्लाका तीन वटा ल्याबमा गरिएको परीक्षणमा धेरै जना संक्रमित पुष्टि भएको छ ।
भेरी अस्पतालमा ४३ जनाको परीक्षण गर्दा २० जना, कोहलपुर मेडिकल कलेजमा २८ जनाको परीक्षण गर्दा १५ जना र बागेश्वरी ल्याबमा २२ जनाको परीक्षण गर्दा तीन जनालाई कोरोना पुष्टि भएको छ । ३८ जनामध्ये २४ जना बाँके जिल्ला निवासी रहेका छन् ।
बाँकेमा सक्रिय संक्रमितको संख्या सय पुगेको छ । भेरी अस्पतालमा ९ जनाको उपचार भइरहेको छ । एक जना सिकिस्त, ७ जना मध्यम र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । जिल्लामा बिहीबार तीन जना डिस्चार्ज भएका छन् ।