पाँच जना स्वास्थ्यकर्मी नै संक्रमित

नेपालगञ्ज – नेपालगञ्ज नाकामा रहेको हेल्थ डेस्कमा खटिएका पाँच जना स्वास्थ्यकर्मी नै कोरोना संक्रमित भएका छन् ।
भारतबाट आएका नेपालीको कोरोना परीक्षण गर्ने क्रममा पाँच जना स्वास्थ्यकर्मी नै संक्रमित भएका हुन् । नेपालगञ्ज नाकामा भारतबाट आएका व्यक्तिमा कोरोना देखा परिरहेको छ । भारतका विभिन्न शहरबाट आएका ठूलो संख्याका मानिसलाई भीडकै बीचमा कोरोना परीक्षण गर्ने गरिन्छ । हेल्थ डेस्कमा काम गर्ने स्वास्थ्यकर्मी नै संक्रमित भएपछि उनीहरुलाई आइसोलेसनमा पठाएर अरु कर्मचारीबाट परीक्षण गर्ने काम भइरहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले जानकारी दिनुभयो ।
नेपालगञ्ज नाकामा मंगलबारमात्रै ३७ जनामा कोरोना पुष्टि भएको छ । ३ सय ९६ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।
यस्तै, नेपालगञ्जका तीन वटा ल्याबमा ६४ जनाको परीक्षण गर्दा १५ जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पतालमा २९ जनाको परीक्षण गर्दा दश जना, कोहलपुर मेडिकल कलेजमा २२ जनामा तीन जना र बागेश्वरी ल्याबमा १३ जनाको जाँच गर्दा दुई जनामा कोरोना देखिएको हो ।


error: यो सुविधा उपलब्ध छैन !