चार ठाउँ हेरियो, उपयुक्त कुन ?

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले क्रिकेट मैदानका लागि जग्गा खोज्न खटाएको टोलीले चार ठाउँको जग्गा हेरेको छ ।
वडा नं. २ का अध्यक्ष एवं क्यानका पूर्व केन्द्रिय सदस्य सुनिलसिंह हमालको नेतृत्वमा रहेको टोलीले ६ नम्बर, १४ नम्बर र १९ नम्बरको दुई ठाउँमा जग्गा हेरेको हो । ६ नम्बरको फूल्टेक्रा, १४ नम्बरको भवानीयापुर र १९ नम्बरको बसुदेवपुरको तलाउ र आलानगरको खाली जग्गा हेरिएको संयोजक हमालले जानकारी दिनुभयो । टोलीले दुई दिन लगाएर चार ठाउँको जग्गा स्थलगत निरीक्षण गरेको थियो ।


हेरेकोमध्ये सबैभन्दा राम्रो फूल्टेक्राको जग्गालाई मानिएको टोलीले जनाएको छ । तर, यो जग्गा विवादित रहेको छ । त्यहाँ मुस्लिम र हिन्दु पक्षले केही भाग ओगटेका छन् । वडा नं. ६ का अध्यक्ष समिरप्रताप सिंहले त्यहाँ क्रिकेट मैदान बनाउन उपयुक्त हुने र त्यसका लागि आफूले सहयोग गर्ने बताउनुभयो ।
टोलीमा रहेका नेपालगञ्ज उपमहानगरपालिकाका अमिन पवन अर्यालयका अनुसार, टोलीले बसुदेवपुरको सार्वजनिक तलाउ र आलानगरको खाली ठाउँ पनि हेरेको छ । आलानगरको खाली जमिन वनको अधिनमा रहेको छ । वडा नं. १९ का अध्यक्ष परशराम कुर्मीले दुवै ठाउँको जग्गा देखाउनु भएको थियो ।


क्रिकेट प्रशिक्षक दिपेन्द्रप्रताप सिंहले विवाद मिलाएर फूल्टेक्रामै क्रिकेट मैदान बनाउन उपयुक्त हुने बताउनुभयो । प्रशिक्षक सिंह पनि जग्गा हेर्न जानु भएको थियो ।
टोलीका संयोजक हमालले टोलीको धारणा प्रतिवेदनमा उतारेर मेयर डा. धवलशमशेर राणालाई बुझाउने बताउनु भयो । ‘हामीले सबै ठाउँको अवस्था समेटेर प्रतिवेदन बनाएर मेयर डा. राणालाई बुझाउँछौं, हमालले भन्नुभयो, त्यसपछि अरु काम अगाडि बढ्छ ।’


नेपालगञ्जमा क्रिकेट मैदान छैन । मंगलप्रसाद माविको चौरले क्रिकेटलाई धानेको छ । खेलाडी र खेलसम्बद्धको चर्को दबाब र नेपालगञ्जमै क्रिकेट मैदान नभएपछि उपमहानगरपालिका मैदान बनाउन तातिएको छ । क्रिकेटको उर्वरभूमिमा मैदान नहुनु लाजमर्दो कुरा भइरहेको छ । मेयर डा. राणा क्रिकेट मैदान बनाउन कस्सिएका छन् । जग्गा मिल्न नसक्दा अहिलेसम्म काम अगाडि बढ्न सकेको छैन । अहिले जग्गा हेरेको टोलीको प्रतिवेदनले केही नतिजा निकाल्न सघाउ पुर्याउने विश्वास गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !