डुवान क्षेत्रमा दशकपछि तोरी खेती
नेपालगञ्ज – डेढ दशक अघि पञ्चराम यादवको परिवार छिटैपुरुवामा बस्थ्यो । राप्ती नदीको बाढीले पञ्चरामको उठीबास लगायो । पञ्चरामका परिवार विस्थापित भएर पाँजामा सरे ।
वि.सं. २०७१ सालमा आएको ठूलो बाढीपछि राप्ती नदीले धार परिवर्तन ग¥यो । छिटैपुरुवा, पिप्रहवा, सिम्रहना, टेपरीगाउँलाई छोडेर राप्ती नदी पूर्व–उत्तरतिर बग्न थाल्यो । राप्ती नदीको डुवान, कटान र पटानले बगर बनेको छिटैपुरुवामा फेरि अन्नबाली उत्पादन शुरु भएको छ ।
दशक बढी बालुवा थुप्रिएको आफ्नो खेतमा लहलह तोरी फूल्दा पञ्चराम मख्ख छन् । ‘खेती हुन थालेको दुई वर्ष भएको छ । आफ्नो खेतको तोरी देखाउदै पञ्चरामले भन्नुभयो, हेर्नुस् न, कति राम्रो तोरी फूलेको छ, हेर्दा नि लोभलाग्दो छ । राप्ती नदीले धार परिवर्तन गरेपछि हाम्रो जीवनको धार लयमा फर्किन थालेको छ ।’
पञ्चरामको भौतिक शरीर त पाँजामा बस्छ । मन, मस्तिष्क छिटैपुरुवामै हुन्छ । विहान उठ्ने वित्तिकै छिटैपुरुवामा आउने पञ्चराम साँझ परेपछि मात्रै पाँजामा पुग्नु हुन्छ । ‘मेरो जग्गा यतै छ । दिनभरी काम यतै हुन्छ । पाँजामा त सुत्नमात्रै जान्छु, पञ्चरामले भन्नुभयो, जीवन नै यतै छ ।’
राप्ती नदी बग्दासम्म पञ्चरामको खेतमा कुनै उत्पादन हुँदैनथ्यो । राप्ती नदीले धार परिवर्तन गरेको केही वर्षसम्म पनि पञ्चरामले आफ्नो खेतमा कुनै उत्पादन गर्नु भएन । बरु उहाँको खेतमा अर्कैले उत्पादन गरेर लग्यो । पछिल्लो दुई वर्षदेखि पञ्चरामले आफै खेती गर्न शुरु गर्नु भएको छ ।
पाँजामा बस्ने राकेश यादवको पनि अवस्था पनि पञ्चरामको जस्तै छ । राकेशको पनि जग्गा छिटैपुरुवामा छ । राकेशको केही जग्गामा अझै अर्कैले खेती गरिरहेको छ । राप्ती नदीको डुवान, कटान र पटानले खेतीयोग्य जमिन बगरमा परिणत भएपछि कुन जग्गा कसको हो, छुट्याउन गाह्रो भएपछि जसले सक्छ, उसले नै खेती गर्ने हुन थाल्यो । यस्तो बाहुबलीको शिकार केही वर्ष पञ्चराम र राकेश भएका छन् ।
डेढ दशक अघि राप्तीमा ठूलो बाढी आउदा छिटैपुरुवा, टेपरी, सिम्रहनाका ४६ घरपरिवारलाई सामुदायिक वनमा लगेर राखिएको थियो । त्यहाँबाट केही पाँजामा सरे । कोही आफ्नो पुरानो ठाउँमा फर्किएका छन् । राप्ती नदीले धार परिवर्तन गरेपछि यी आधा दर्जन गाउँका मानिसले ठूलो राहत पाएका छन् ।
छिटैपुरुवा छेउबाट अहिले डुडुवा खोला बगिरहेको छ । डुडुवामा पनि वर्खामा ठूलै बाढी आउने गर्दछ । राप्ती नदीले धार परिवर्तन गरेपछि डुडुवाको भलले ठूलो नोक्सानी पु¥याएको छैन । केहीको जग्गामा भने अहिले डुडुवा बगिरहेको छ । टेपरीका मुनीजर यादवले आफ्नो खेतमा डुडुवा खोला बगिरहेको बताउनुभयो । बाटोपारी घर बनाएर बसेका यादवले बाटोपारी बगेको डुडुवा र त्यसको आसपासको जग्गा आफ्नो भएको बताउनुभयो । यादवको परिवार दुई वर्ष हजरत सामुदायिक वनमा गएर बस्यो । जग्गा यतै थियो । एक कठ्ठा दिएर राखेको सामुदायिक वनमा यादवलाई बस्न मन लागेन ।
गाउँपालिकाले छुट्याउँदै जग्गा
राप्ती नदीले बगर बनाएको होलिया गाउँपालिकाको तटीय क्षेत्रको जग्गालाई गाउँपालिकाले छुट्याउन शुरु गरेको छ ।
बगर भएकाले सबै उस्तै देखिदा क–कसको जग्गा हो भन्ने विवाद भएपछि गाउँपालिकाले पिलर राखेर जग्गा छुट्याउन शुरु गरेको हो ।
पालिकाले अहिले साँध किल्ला छुट्याइरहेको छ । राप्ती नदीले धार परिवर्तन गरेपछि अन्नबाली उत्पादन हुन थालेकाले स्थानीयले आ–आफ्नो जग्गा छुट्याइदिन आग्रह गरेका थिए । आफ्नो खेतमा जोत्न जादा अर्काको समेत जग्गा समेटिने समस्या भएर ठूलो विवाद भएपछि गाउँपालिकाले चासोका साथ जग्गा छुट्याउन थालेको छ ।
भारतले सन् १९८५ मा लक्ष्मणपुर बाँध र २००० मा कलकलवा तटबन्ध निर्माण गरेपछि राप्ती नदी तटीय क्षेत्रमा डुवान, कटान र पटान शुरु भएको थियो । पछिल्लो समयमा भारतले दशगजामै सटाएर सडकजस्तो बाँध बनाएपछि नेपालतर्फ डुवानको जोखिम अझ बढेको छ ।