बाँके र बर्दियाका विद्यार्थीलाई एनसीसी तालिम

नेपालगञ्ज – नेपाली सेनाको भैरवप्रसाद गण, इमामनगर ब्यारेक राँझाले बाँके र बर्दिया जिल्लाका आठ वटा स्कूलका २ सय ८८ जना विद्यार्थीलाई राष्ट्रिय सेवा दल (एनसीसी) क्याडेट तालिम दिन शुरु गरेको छ ।
भैरवप्रसाद गणले बाँकेका चार र बर्दियाका चार वटा स्कूलमा तालिम शुरु गरेको हो । ८ र ९ कक्षाका विद्यार्थीलाई जुनियर तथा ११ र १२ कक्षाका विद्यार्थीलाई सिनियर डिभिजन तालिममा सहभागी गराइएको छ ।
विद्यालय जीवनदेखि नै बालबालिकालाई राष्ट्रिय एकताको भावना जगाउन, बफादारिता, इमानदारिता, अनुशासन, नेतृत्व गर्ने बानीको विकास गराउन नेपाली सेनाले एनसीसी क्याडेट तालिम दिने गर्दछ ।


बाँकेको आदर्श मावि, राँझामा सिनियर डिभिजन, नेपाल राष्ट्रिय मावि, वीपी मेमोरियल स्कूल र कृष्ण माविमा जुनियर डिभिजन, बर्दियाको त्रिभुवन मावि भुरीगाउँमा सिनियर डिभिजन, लक्ष्मी मावि, रामजानकी मावि, एकप्रिय राठौर माविमा जुनियर डिभिजन तालिम सञ्चालन गरिएको छ । एउटा स्कूलमा १८ छात्र र १८ छात्रा गरी ३६ जना सहभागी रहेका छन् ।
भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले तालिमको उद्घाटन गर्नु भएको छ । गणपति प्रमुख सेनानी कार्कीले विद्यार्थीलाई विपतका बेला भोलिन्टियर्सको रुपमा खटिन र नेपाली सेनाको बारेमा जानकारी दिन तालिम सञ्चालन गरिएको बताउनुभयो ।


नेपाली सेनाले तालिममा सहभागी विद्यार्थीलाई पोशाकलगायत उपलब्ध गराएको छ । विद्यार्थीको पढाईमा असर नपर्ने गरी विद्यालयमा ३५ दिन र १५ दिन जंगलमा तालिम दिइने छ ।


error: यो सुविधा उपलब्ध छैन !