सिडिओलाई सेवाग्राहीले फोनमा भन्छन्, ‘सर, मेरो काम भएन के गर्ने ?’
नेपालगञ्ज – ‘सर, म मालपोत कार्यालयमा छु । चार घण्टा हुँदा पनि मेरो काम नै भएन ।’ प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई अपरिचित मानिसको फोन आयो । अर्को अपरिचितले फोनमा भने, ‘नापी कार्यालयमा मेरो काम नै भएन ।’
दुवै जनाको फोन उठाएर गुनासो सुनेपछि प्रमुख जिल्ला अधिकारी खत्रीले गुनासो गर्ने सेवाग्राहीको नम्बर दिदै मालपोत कार्यालय र नापी कार्यालयका प्रमुखलाई फोनमा भन्नुभयो, ‘यो नम्बरबाट मलाई फोन आएको छ । उनीहरुलाई तुरुन्त फोन गरेर बोलाएर के समस्या हो बुझिहाल्नुस् ।’
प्रमुख जिल्ला अधिकारीको फोन पछि सेवाग्राहीको काम भएछ । फेरि उनीहरुको फोन सिडिओलाई आएन ।
बाँकेका प्रमुख जिल्ला अधिकारी खत्रीले सबै कार्यालयमा सम्बन्धित कार्यालय प्रमुख र आफ्नो फोन नम्बर राखेर ‘काममा ढिलासुस्ती वा गुनासो भएमा फोन गर्नुहोला’ भनेर ब्यानर झुण्ड्याएपछि सेवाग्राहीले यसरी सिडिओ खत्रीलाई फोन गर्न थालेका हुन् ।
प्रजिअ खत्रीले अनावश्यक ढिलासुस्ती रोक्न आफूले फोनमै गुनासो सुन्न थालेको बताउनुभयो । ‘सेवाग्राहीले छिटो र छरितो सेवा पाउन् भन्ने उद्देश्यले यस्तो गरेको छु, यसबाट सेवाग्राहीको काममा ढिलासुस्ती गर्ने कर्मचारी पनि पत्ता लाग्छ, प्रजिअ खत्रीले भन्नुभयो, हामीले काम गरेनौ भने सिडिओकहाँ खबर पुग्छ भन्ने कुराले कर्मचारीले छिटो काम गर्छन् भन्ने पनि हो ।’
बाँकेका सिडिओ भएर आएपछि खत्रीले यो नयाँ कामको शुरुवात गर्नु भएको छ । सबै कार्यालय प्रमुखहरुलाई बैठकमै यसबारेमा जानकारी गराइएको छ । सरकारी सबै कार्यालयमा ब्यानर राखिएको छ । कार्यालयमा पुगेका सेवाग्राहीसँग कर्मचारीले अनुचित रकम मागेमा त्यसको खबर सिडिओकहाँ पुगोस् भन्ने पनि उद्देश्य राखिएको छ ।