कहिले फिर्ता हुन्छ विद्यार्थीको १५ प्रतिशत शुल्क ?
नेपालगञ्ज – सिटिइभिटी अन्तर्गतका कलेजमा पढ्ने विद्यार्थी आन्दोलनमा उत्रिएका छन् । विद्यार्थीले नेपालगञ्जको सडकदेखि जिल्ला प्रशासन कार्यालय, बाँकेको गेटमा बसेर आन्दोलन गरिरहदा कतैबाट सुनुवाई भएको छैन ।
कोरोनाको बेला अनलाइन पढाई भएको थियो । अनलाइन पढाई हुँदाको १५ प्रतिशत शुल्क फिर्ता गर्न केन्द्रले परिपत्र गरेको विद्यार्थीहरुको भनाई छ । नेपालगञ्जका प्राविधिक कलेजहरुले उक्त शुल्क फिर्ता गरिरहेका छैनन् ।
गोरखापत्रमा सूचना आइसक्दा समेत कलेजले १५ प्रतिशत रकम फिर्ता नगरेकोमा विद्यार्थीको आक्रोश रहेको छ । शुल्क फिर्ताबाट शुरु भएको आन्दोलनले प्राविधिक कलेजको पढाईको गुणस्तरमा समेत प्रश्न चिन्ह खडा गरेको छ । विद्यार्थीहरुले कलेज सञ्चालकलाई शैक्षिक माफिया भन्न भ्याएका छन् ।
जिल्ला प्रशासन कार्यालय अगाडि विद्यार्थीले निरन्तर नाराबाजी गरिरहेपछि प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले प्राविधिक कलेज सञ्चालकलाई बोलाएर वार्ता गराउने आश्वासन दिनु भएको छ ।