‘राजा’को कुरा सुनिरहे…
नेपालगञ्ज – ५०–६० बर्षदेखि जंगल कै बास, जंगल कै घुमाइ अनि जंगल कै खानपिन । त्यसैले उनी दुब्लो देखिन्छन् । अनुहारमा वृद्धपन त छदैछ । राउटे गल्छीमा पुग्दा भेटिएका उनले फूर्तिका साथ सुनाए, ‘देशमा को राजा छन् ? को प्रधानमन्त्री छन् ? मलाई थाहा छैन । यो जंगलको राजा त मै हुँ ।’
दैलेख र सुर्खेतका जंगलमा बसोबास गर्ने एक सय ५० जनाका मुखिया अर्थात् राउटे समुदायको ‘राजा’, दिलबहादुर शाही भन्दै हुनुहुन्थ्यो, ‘जंगलको होस् कि शहरको, राजा त राजा नै हो नि ।’
दिलबहादुरले राजा भनिरहदा मेरो मस्तिष्कमा दोस्रो जनआन्दोलनको याद घुम्न थाल्यो । सामन्तीको प्रतिक भन्दै त्यही राजा फाल्न कति दुःख पाइयो भनि साध्य छैन । त्यसो त राजा भन्ने शब्द सुनेर ठूलो भएको थिए म । दिलबहादुरले आफ्नै लवजमा राजा भनिरहदा छुट्ट्ै मज्जा आइरहेको थियो । सुनौ, सुनौ लागिरहेको थियो ।
राजा (मुखिया) अर्थात शाहीको कुरा सुन्दै राउटे बस्ती हेरियो । बडो कारुणीक देखिन्थ्यो उनीहरुको बसाई । जंगलको बीचमा पातलो कपडाले तयार गरेको टेन्ट, एकसरो धरोमा केटाकेटी नांगा नि देखिन्थे यो चिसोमा । यही सालको चिसोले राउटेका ६ जना केटाकेटीको ज्यान लगेछ । तर, बेखबर छ राज्य । त्यहाँ पुगेर हेर्दा उनीहरुको पीडाको अनुभूति भयो । मन कुडियो ।
जंगल मै घुम्ने, जंगल मै खाने र प्राकृतिक जीवन बिताउने ‘बनबासी’को अलग्गै संसार देखियो । आफ्नै भाषा अनि संस्कार । उनीहरुको भाषा खाम्सी रहेछ । उनीहरु मुख्यतः ३ वटा पर्व मनाउने गर्दा रहेछन्, बनदेउताको पूजा, मस्ट पूजा र माघे संक्रान्ती ।
न लोभ छ, न त इष्र्या नै । कलियुगमा पनि उनीहरुले ‘रामराज्य’ चलाएका रहेछन् । एउटा बाँदर मारेर ल्याएपनि सबैलाई भाग पु¥याएर खान्छन् । उनीहरुकोमा ३ समुदाय रहेछ, फरक–फरक । बिहावारी एउटैसँग चल्दैन रहेछ । कुपोषण, रहनसहन कै कारण सायद उनीहरुको आयु लामो रहेनछ ।
पछिल्लो समय अलि मदिराको लतले राउटे पुरुषहरु ग्रस्त भएको पाइयो । काठका भाडाकुडा बनाउने र गाउँ बस्तीमा लगेर बेच्छन् अनि आवश्यक खाद्यान्न खरिद गर्छन् । अहिलेको युगमा पनि जंगली मान्छे भेटिनु र उनीहरु आफ्नै रहन–सहन र परम्परागत प्राकृतिक रूपमा जीवनयापन गरेको देख्नु अहिलेको पुस्ताका लागी अनौठो र अचम्मको बिषय हुन सक्छ । सरकारले राउटेलाई उनीहरुको सहज जीवनयापनका लागी प्रतिब्यक्ति मासिक तीन हजार रुपैयाँ दिने गरेको छ । निश्चित बनक्षेत्र तोकेर दिने, समय–समयमा स्वास्थ सेवा जंगल मै पुगेर प्रवाह गर्ने र उनीहरुको संख्या वृद्धि र उनीहरुलाई जोगाएर आन्तरिक र बाह्य पर्यटक समेत भित्र्याउन सकिने मेरो ठम्याइ रह्यो ।
आदिवासी समुदाय राउटे फिरन्ते हुन् । उनीहरु एकैठाउँमा बस्दैनन् । केही समय एक ठाउँमा बसेपछि उनीहरु त्यो ठाउँ छाडेर फेरि अर्को स्थानतिर लाग्छन् । मौसम अनुसार उनीहरु बसाई सर्दा रहेछन् । यी सबै कुरा मुखिया शाहीले गर्वका साथ सुनाइरहदा म सुनिरहे, सुनिरहे । आखिर कुरा त राजाकै थियो, सुन्नु त परिहाल्यो नि ।