इगाउँमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना

खजुरा – खजुराको वडा नं. ४ इगाउँमा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको छ । वडा नं. ४ मा स्वास्थ्य केन्द्र स्थापनासँगै अब खजुराको आठ वटै वडामा स्वास्थ्य केन्द्र भएका छन् ।
यसअघि यो वडाका जनताले कपास विकास नजिक रहेको प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा लिँदै आएका थिए । आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले खजुराका सबै वडामा स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी आधारभूत स्वास्थ्य केन्द्र रहेकोले जनतालाई आफ्नो पायक पर्ने स्थानमा पुगेर सेवा लिन आग्रह गर्नुभयो ।
स्वास्थ्य, शिक्षा, खेलकुदलाई जोड्दै सेवा प्रदान गर्ने र खजुरालाई तिनैको हब बनाउने उद्देश्यले अगाडि बढिरहेको अध्यक्ष कक्षपतिले बताउनुभयो । अध्यक्ष कक्षपतिले केही मेसिन जडान गर्न बाँकी रहेको र कर्मचारीको दरबन्दी पूरा गरेर खजुराको क्यान्सर अस्पताल पूर्णरुपमा सञ्चालनमा ल्याउने, १५ बेडको प्राथमिक स्वास्थ्य केन्द्र स्थापना र हरेक वडामा स्वास्थ्य केन्द्रहरु रहेकाले खजुरा स्वास्थ्यको क्षेत्रमा अगाडि बढिरहेको उल्लेख गर्नुभयो ।
स्वास्थ्य केन्द्र उद्घाटन कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका उपप्रमुख एकमाया विकले स्थापना भएको आधारभूत स्वास्थ्य केन्द्र स्थापना भएकाले अब स्थानीयले आफ्नै वडाबाट सेवा पाउने बताउनुभयो ।
वडा नं. ४ का वडाध्यक्ष तिलकवीर सुनारले गाउँपालिकाले सबै वडालाई समानरुपमा विकासमा अगाडि बढाएको बताउनुभयो । कार्यक्रममा स्वास्थ्य क्षेत्रका कर्मचारी खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतलगायतको सहभागिता थियो ।


error: यो सुविधा उपलब्ध छैन !