वनमन्त्रीलाई नेपालगञ्जवासीको मागैमाग

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले नगरबासीको नाताले नेपालगञ्जको विकास निर्माणमा प्राथमिकता दिन लुम्विनी प्रदेशका वन, वातावरण तथा भू–सरक्षण मन्त्री सुरेन्द्र हमाललाई अनुरोध गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले मन्त्री हमालको स्वागत तथा सम्मानमा आयोजित कार्यक्रममा नगर प्रमुख डा. धवलशमशेर राणाले यसअघि प्रदेश सरकारले नेपालगञ्जलाई विभेद गरेको भन्दै अब नगरबासी मन्त्री भएपछि नगरले प्राथमिकता पाउने आशा र अपेक्षा राखेको बताउनुभयो ।
नेपालगञ्जमा रहेका तालहरुको स्तरउन्नती गरी वातावरण संरक्षण गर्नुपर्ने, प्रदुषण न्यूनीकरण गर्नुपर्ने, पार्क निर्माण लगायत विभिन्न खालका विकास निर्माणका योजना प्रस्तुत गर्दै नगर प्रमुख राणाले प्रदेश सरकारबाट ठूलो अपेक्षा राखिएको बताउनुभयो ।
उपप्रमुख उमा थापा मगरले नेपालगञ्ज क्षेत्रबाट निर्वाचित सांसद मन्त्री हुनु नेपालगञ्जबासीकै लागि अवसर भएको भन्दै हमाल मन्त्री भएपछि नेपालगञ्जबासीका अपेक्षा बढेको र विकासले पनि गति लिने बिश्वास ब्यक्त गर्नुभयो ।
नेपालगञ्ज गृह नगर भएका कारण प्राथमिकता दिन मगरले आग्रह गर्नुभयो । प्रबक्ता प्रमोद रिजालले राजनीतिक आस्थाका आधारमा विभेद नगर्ने हमाल मन्त्री भएपछि जिल्लाबासीनै खुशी भएको बताउनुभयो ।
मन्त्री हमालले नेपालगञ्जबासीले दिएको जिम्मेवारी इमान्दारिताका साथ पुरा गर्ने बताउनुभयो ।
प्रदेशका ठूला शहरलाई हरित शहर बनाउन योजना बनाइरहेको भन्दै उहाँले ठूला रुख रोप्नुपर्ने पक्षमा आफु रहेको बताउनुभयो । नेपालगञ्ज र बाँकेमा बोटानिकटल पार्क, जडिबुटी प्रशोधन केन्द्र, बागेश्वरी मन्दिर पार्कको स्तरउन्नती लगायत नेपालगञ्ज उपमहानगरपालिकाबाट प्रस्तुत मागहरु पुरा गर्ने बताउनुभयो । सो अवसरमा मन्त्री हमाललाई नगर प्रमुख हमाल, उपप्रमुख मगर सहित वडा अध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरुले फुलमाला र खादा सहित सम्मान गर्नुभएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !