राजापुरमा घरभित्रै बग्यो, कर्णाली नदी (फोटो फिचर)

बर्दिया – बर्दियाको राजापुर क्षेत्रमा डुवानमा परेको छ । कर्णाली नदीमा आएको बाढी राजापुर नगरपालिकाको वडा नं. १, ३, ४ र ७ नम्बर तथा गेरुवाको २ र ३ नम्बर वडामा पसेको छ । यी गाउँ बुधबारसम्म जलमग्न छन् ।
आइतबारदेखि मंगलबारसम्म लगातार पानी परेपछि कर्णाली नदीमा पानीको बहाव राजापुर क्षेत्र भन्दा माथि पुगेको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिनुभयो । ‘धेरै पानी प¥यो । नदीको सतह ह्वात्तै बढ्यो, प्रजिअ सुनारले भन्नुभयो, नदीको सतह १३.३० मिटर पुग्दा कर्णालीको बहाव राजापुर क्षेत्रभन्दा माथि पुग्यो ।’


प्रजिअ सुनारका अनुसार, दुई पालिकाका ६ वटा वडामा एक हजार बढी घर डुवानमा परेका छन् । पाँच हजार मानिस विस्थापित भएका छन् ।
लगातारको वर्षाले कर्णाली नदी बढ्यो । ड्यामबाट पानीको निकास हुन सकेन । भारतले कर्णाली नदीको गिरिजापुरीमा बनाएको बाँध चाडै नखोलिदिंदा डुवानमा भयो ।


बुधबार राजापुर क्षेत्रमा पुग्दा धेरै मानिस सडकमा बसिरहेका थिए । राजापुर–३ का माधव चौधरी र चमेली थारुले घरभित्र पानी पसेकाले रातभरी सडकमै बसेको बताउनुभयो । ‘सडकमै रातभरी बस्यौ । घरभित्र कम्मर कम्मर पानी थियो, चमेलीले भन्नुभयो, छोरी ज्वाई पनि आएका थिए । सडकमै बसे ।’
दौलतपुरका धेरै घरभित्र कर्णाली नदी बगिरहेको थियो । मानिसहरु घरको छतमा बसिरहेका थिए । आपतमा परेकालाई नेपाली सेना र सशस्त्र प्रहरीले उद्धार गरेर अग्लो ठाउँमा ल्याएका छन् । प्रमुख जिल्ला अधिकारी सुनार, भैरवप्रसाद गण, इमामनगर ब्यारेक नेपालगञ्जका गणपति प्रमुख सेनानी जनमत कार्की पटक–पटक बाढीग्रस्त क्षेत्रमा पुगेर उद्धारमा खटिएका छन् ।


प्रजिअ सुनारले बाढीले घरभित्रको सम्पति र धानबालीमा ठूलो नोक्सानी गरेपनि मानवीय क्षति नभएको बताउनुभयो । उहाँले घरभित्रको सम्पति र धानबालीको क्षतिको विवरण चाडै नै निकालेर प्रदेश र केन्द्रीय सरकारलाई जानकारी दिएर राहतको प्रक्रिया अघि बढाइने बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !