शालीन मरीचमान श्रेष्ठ

पूर्वप्रधानमन्त्री मरीचमानसिंह श्रेष्ठलाई मैले १२÷१३ वर्षको उमेरमै चिन्ने मौका पाएँ । त्यतिबेला उनी भारतको लखनउमा अध्ययनरत थिए । मेरो ठूल्दाजु दामोदर आचार्य, गजाधर पोखरेल, गोपाल पोखरेल र भरतमणि पोखरेलहरू लखनउमा पढ्ने उनका समकालीन साथी थिए । अध्ययनकै क्रममा सल्यानबाट लखनउ जाँदा उनी हाम्रो घरमा बास बस्थे । भोलिपल्ट बिहानै दाजुहरूसहित उनी कोइलाबास हुँदै भारत लाग्थे । सरसामान र झोला कोइलाबाससम्म हाम्रो घरका काम गर्ने सहयोगीहरूले बोकेर लगिदिएको सम्झिन्छु । लखनउबाट घर फर्किंदा पनि मरीचमान एक दिन हाम्रो घरमा बास बसेर मात्र सल्यानतिर लाग्थे । उनले बीए उत्तीर्ण गर्दासम्म यो क्रम चलिरह्यो ।
म पढ्नका लागि महेन्द्र मावि तुलसीपुर गएँ । जहाँका प्रधानाध्यापक भारतीय शिक्षक रामलोचन सिंह थिए । उनले मरीचमानको खुबै चर्चा गरिरहन्थे । मरीचमान शिक्षकका रूपमा पहिलोपटक सल्यानको स्कुलमा नियुक्ति हुँदा अञ्चल शिक्षा समितिको तर्फबाट रामलोचन सिंहले अन्तर्वार्ता लिएका रहेछन् । त्यही बेलादेखि मरीचमान र रामलोचनको सम्बन्धमा घनिष्ठ थियो । रामलोचन सिंहको तुलसीपुरस्थित डेरामा पनि मरीचमान आइरहन्थे । एक÷दुईपटक मैले मरीचमानलाई रामलोचन सरको डेरामा भेटेको थिएँ । तुलसीपुर जानुअघि रामलोचनले घोराहीमा पढाउँथे । त्यतिबेला उनको चिनजान हाम्रो बुबासँग भयो । त्यसैले उनी कहिलेकाहीँ मलाई आफ्नो डेरामा लैजान्थे । म त्यतिखेर सात कक्षामा पढ्दै थिएँ ।
पूर्व–पश्चिम महेन्द्र राजमार्ग बन्ने चर्चा थियो । त्यसबेला जनश्रमदान गर्ने लहर थियो । रामलोचन सिंह माथिल्लो कक्षाका विद्यार्थीलाई लिएर जलकुण्ठी (बाँकेको अगैया) गएका थिए । त्यही बेला सल्यानबाट मरीचमान सिंह पनि आफ्ना विद्यार्थीलाई लिएर श्रमदानका लागि आएको मलाई सम्झना छ ।
मरीचमान अङ्ग्रेजीका शिक्षक थिए । सरल, शालीन, भद्र स्वभावका उनी हाम्रो घरमा आउँदा राजनीतिक कुराकानी हुँदैनथ्यो । यहीबीचमा म अध्ययनका लागि तुलसीपुरबाट घोराही, घोराहीबाट बनारस र बनारसबाट काठमाडौँ पुगेँ । म काठमाडौँमा हुँदा मरीचमान राष्ट्रिय सभा सदस्य भइसकेका थिए । त्यतिबेलै मेरो नागरिकता बनाउनुपर्ने भयो । चिनेका अधिकारीहरू कोही थिएनन् । मैले मरीचमानलाई भेटेर नागरिकता बनाउनुपर्ने कुरा राखेँ । उनले दीर्घराज कोइरालालाई भनिदिए । कोइरालाले सनाखत गरिदिएपछि मेरो नागरिकता बन्यो । त्यतिबेला अधिकृतस्तरका कर्मचारीले सनाखत गरेपछि मात्र नागरिकता दिइन्थ्यो ।
पछि अखिलको राजनीति गर्ने बेला हामी उग्र थियौँ । त्यति राम्रो पारिवारिक सम्बन्ध थियो । तैपनि, हामी मरीचमानलाई पञ्चको रूपमा बुझ्थ्यौँ । पश्चिमकै हुन्, चाहिने मान्छे हुन् भनेर कहिल्यै सोचिएन, खोजिएन । व्यक्तिगत रूपमा भने मेरो मरीचमानसँग अन्तिमसम्मै राम्रो सम्बन्ध थियो ।
म महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्जमा आइसकेको थिएँ । क्याम्पसमा रामलोचन सर पनि थिए । २०४५ सालमा भारतले नेपालमा नाकाबन्दी गरेको थियो । त्यो बेलामा मरीचमानले हामीलाई एउटा काम लगाएका थिए । माथिल्लो तहमा कुराकानी हुँदै थियो होला । तैपनि, प्रधानमन्त्री मरीचमानले रामलोचन सर र मलाई बहराइचमा भारतीय सांसद आरिफ मोहम्मद खाँलाई भेट्न पठाए । मरीचमानको सन्देश लिएर हामी बहराइचमा सांसद खाँको घरमा पुगेका थियौँ । भारत सरकारलाई वार्ताका लागि पोजेटिभ गराउन रोल खेलिदिन आग्रहसहितको सन्देश लिएर हामी त्यहाँ पुगेका थियौँ । सांसद आरिफले ‘ठिकै छ, म केन्द्रमा कुरा गर्छु’ भनेर हामीलाई फर्काएका थिए । आरिफलाई भेट्न रामलोचन सर पछि पटक–पटक दिल्ली पनि गए ।
नेपालगन्जका पुरुषोत्तम श्रेष्ठ मरीचमानका दाहिने हात थिए । पुरुषोत्तमले सल्यानमा राविसे गरेका थिए । त्यही बेलादेखि मरीचमानसँग उनको राम्रो सम्बन्ध बनेको रहेछ । पञ्चायतविरूद्धको आन्दोलन उत्कर्षमा थियो । नेपालको प्रजातान्त्रिक आन्दोलनलाई सघाउने निहुँमा भारतले नाकाबन्दी लगाएका थिए । नेपालका दरबारिया र पञ्चशक्तिबाहेक अरू सबै मरीचमानको विरोधमा थिए । तर, मैले प्रधानमन्त्री मरीचमानको कदमलाई समर्थन गरेर समीक्षा पत्रिकामा एउटा लेख लेखेँ । त्यो बेला कुनै पनि प्रगतिशीलले मरीचमानको पक्षमा लेख्दैनथे । देशभर पञ्चायतविरोधी भावना जागेको थियो । मेरो लेख पढेर मरीचमान खुसी भएछन्, अझ भनौँ प्रभावित भएछन् । पुरुषोत्तममार्फत उनले मलाई खबर पठाएका थिए । उनले भेट्न चाहेका थिए । तर, सत्तामा हँुदासम्म मेरो मरीचमानसँग भेट भएन ।
सत्ताबाट हटेपछि भने उनीसँग निरन्तरजसो भेट हुन थाल्यो । म काठमाडौँ गएका बेलामा मरीचमानलाई भेट्न उनको घरमै जान्थेँ । त्यस्ता भेटहरूमा नाकाबन्दीका कुरा, प्राप्त गरेका सूचनाहरू, भारतीयको नेपालमाथि हुने दबाब, आफूले त्यसबेला देश र व्यवस्था जोगाउन खेलेको भूमिकाबारे उनी लामो चर्चा गर्थे ।
मरीचमानले जनआन्दोलनका बेला दरबार र भारतबीचको सम्बन्धबारे एउटा प्रसङ्ग सुनाएका थिए । २०४६ सालको जनआन्दोलन चर्किरहेका बेला भारतले राजा वीरेन्द्र वीरविक्रम शाहसँग भेट्न चाहेको सन्देश पठाएको रहेछ । भारतीय राजदूतले प्रधानमन्त्रीमार्फत राजालाई भेट्न खोजेका रहेछन् । मरीचमानले त्यसबारे राजालाई जानकारी गराएछन् । राजाले भेटेपछि केही न केही बोल्नुपर्ने हुन्थ्यो । सरकारले कुनै तयारी गरेको थिएन । त्यसमाथि, राजासँग भेटेपछि केही न केही सन्देश दिनुपर्ने हुन्थ्यो । त्यसैले प्रधानमन्त्री मरीचमानले राजालाई अहिले भेट्न उपयुक्त छैन भन्ने सल्लाह दिएछन् । खासै केही कार्यक्रम थिएन । तैपनि, राजा काठमाडौँबाट पोखरा गएर बसेछन् । मरीचमानलाई त्यो भेट टार्ने राम्रो निहुँ बनिहाल्यो । उनले दूताबासका अधिकारीलाई भनिदिएछन्, राजा अहिले काठमाडौँमा छैनन्, आएपछि भेट गरौँला ।
भारतीयले पठाएको प्रस्तावहरू मानेको भए पञ्चायत त जोगिन्थ्यो तर मुलुक भने सहजै भुटानीकरण हुने मरीचमानको दाबी थियो । भारतले सुरक्षा चासोलाई गम्भीरतापूर्वक उठाएको थियो । त्यसको अर्थ, नेपालको परराष्ट्र नीति र सुरक्षा भारतको जिम्मा लगाउनुपर्ने हुन सक्थ्यो । यदि ती प्रस्तावहरू राजाले मानिदिएको भए बहुदलीय व्यवस्थाको स्थापना हुने सम्भावना नै थिएन रे !
भारतले बुँदागत रूपमा प्रस्ताव पठायो । राजा वीरेन्द्र बहुदलीय व्यवस्था स्वीकार गरेर जाने तर भारतले भनेको नमान्ने कुरामा प्रस्ट रहेको मरीचमानले सुनाएका थिए । त्यसैले उनी जनतासँग झुकेर हातेमालो गर्न तयार भएका हुन् रे ! पूर्वप्रधानमन्त्री मरीचमान बारम्बार भनिरहन्थे– ‘अहिले बहुदलीय व्यवस्था भन्नेहरूले जति फूर्ति लगाए पनि राजाले भारतको प्रस्ताव मानिदिएको भए अहिले यिनीहरू कोही पनि सत्तामा हुँदैनथे ।’
प्रधानमन्त्री मरीचमान दरबारप्रति बफादार भए पनि तत्कालीन पञ्चहरूप्रति ज्यादै रुष्ट थिए । भन्थे पनि, ‘माननीय जिताउनका लागि प्रधानमन्त्री र दरबारले भूमिका खेलिदिऊन् भन्ने आशा गर्थे पञ्चहरू । यिनीहरूको आफ्नो हैसियत केही थिएन । अञ्चलाधीशले जिताउनु पथ्र्यो ।’ पञ्चायत र बहुदलीय व्यवस्थामा हालीमुहाली गरेका सूर्यबहादुर थापालाई मरीचमान पटक्कै मन पराउँदैनथे । आफ्ना भित्रियाहरूसँग कुराकानी गर्दा थापालाई उनी भारतीय एजेन्ट भन्थे । अरू पञ्च नेताहरूलाई पनि मरीचमानले स्वभिमान नभएका भारतीय एजेन्टको संज्ञा दिन्थे ।
मरीचमानका अनुसार नाकाबन्दीका बेला उनलाई पञ्चहरूको समेत साथ थिएन । बाहिर सहयोग गरेजस्तो देखाउने र हल्ला मच्चाउने तर भित्रभित्रै मुद्दा र विषयवस्तुमा कहिल्यै अडिलो आड र भरोसा पाएनन् ।
मरीचमान स्वयम् पञ्चहरूबाट शासन चल्दैन भन्नेमा प्रस्ट भइसकेका थिए । पञ्चहरूका अनेक हर्कत देखेर उनी दिक्क भइसकेका थिए । त्यसैले पनि होला, अरू पञ्चहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी गठन गरी राजनीतिमा फर्किंदा उनी भने बाचुन्जेल कतै लागेनन् । पछि सेभ द नेसन भन्ने दल खोलेर केही महिना देश दौडाहामा निस्किए । तर, त्यो पनि प्रभावकारी हुन सकेन ।
सेभ द नेसनको अभियानका क्रममा उनी नेपालगन्ज आउँदा पनि मेरो भेट भएको थियो । धवलशमशेर राणाले उनकै घरमा हाम्रो भेटघाटको मेसो मिलाएका थिए । एमालेमा प्रवेश गर्नुअघि राणा उनकै अनुयायी थिए । एमालेबाट २०५४ सालमा नेपालगन्ज नगरपालिकाका मेयर भएका राणा दुई दशकपछि २०७४ सालमा राप्रपाबाट उपमहानगरपालिका प्रमुख भएका छन् ।
मरीचमान सिंह नेपालगन्ज आउँदा भेरी होटलमा बस्थे । उनी जतिपटक नेपालगन्ज आए, त्यहीँ बसेको मलाई सम्झना छ ।
खोल्न त खोले तर मरीचमानले सेभ द नेसनलाई जोगाउन सकेनन् । केही वर्षपछि नै त्यो पार्टी निष्क्रिय भयो । त्यसपछिको एक भेटमा मैले सोधेको थिएँ, ‘सेभ द नेसन किन छोड्नुभयो त दाइ ?’
उनले निराश हुँदै भनेका थिए, ‘नयाँ पुस्ता यो अभियानमा आउन समय लाग्छ । पुराना पञ्चहरूलाई गोलबन्द गर्न सकिँदैन । यिनीहरू त सब छाडा छन् । अरूले गरिदिएको कामबाट फाइदा लिने मात्रै हुन् ।’
प्रधानमन्त्री भइसकेका मरीचमानले किनेर गाडीसमेत चढेनन् । राजा वीरेन्द्रले एउटा कार उपहार दिएका थिए । बाँचुन्जेल उनले त्यही प्रयोग गरे ।
२०४६ सालको परिवर्तनपछि सबै पञ्चहरू प्रजातन्त्रवादी भए । सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द दोहो¥याएर प्रधानमन्त्रीसमेत भए । तर, मरीचमानलाई कहिल्यै राम्रो व्यवहार गरिएन । राष्ट्रिय समारोहहरूमा पूर्वप्रधानमन्त्रीको हैसियतमा बोलाइनुपथ्र्यो । तर, कसैले उनलाई सम्झिएनन् ।
राजा वीरेन्द्रले जोडबल गरेर एकपटक दरबारमा बोलाएको उनी आफैँले सुनाएका थिए । तर, बहुदलवादीहरू कसैले उनको सोधीखोजी गरेनन् । बहुदलीय व्यवस्थाको आगमनपछि मरीचमानकहाँ पुराना राष्ट्रवादी छवि भएका प्रशासक, पूर्वराजदूत, चिनियाँ दूतावासका फस्ट सेक्रेटरी एवं चिनियाँ प्रोफेसरहरू आउने जाने गर्थे ।
मरीचमानलाई चुरोट र चियाको खुबै सोख थियो । चुरोटको त ‘चेन स्मोकर’ नै थिए उनी । एउटा सिद्धिने बित्तिकै अर्को सल्काइहाल्नु पर्ने । घरमा धेरै सहयोगी थिएनन् । घरमा गाई पालेका उनी चुपचाप बहुदलको रमिता हेरेर बसे ।
२०६५ सालमा संविधानसभाबाट राजतन्त्र अन्त्य र गणतन्त्र स्थापनाको निर्णय भएपछि राजा ज्ञानेन्द्र नारायणहिटी छाडेर नागार्जुन दरबार गए । त्यतिबेला राजा ज्ञानेन्द्रलाई टेलिफोन गर्ने पहिलो व्यक्ति मरीचमान रहेछन् । त्यतिबेला मरीचमानले उनलाई फोन गरेर सहानभूति जनाएका रहेछन् । तर, पञ्चायतकालमा दरबारिया भएर हालीमुहाली गरेका कुनै पनि पञ्चले ज्ञानेन्द्रलाई फोनसम्म गरेका रहेनछन् । पञ्चहरू यतिसम्म कृतघ्न छन् भनेर मरीचमानले मलाई सुनाउँथे । मसँगको एक भेटमा उनले भनेका थिए, ‘जसको (दरबार) आडमा अहिलेसम्म खाए, उनीहरूमा मानवीय गुणसमेत रहेनछ ।’
केही दिनपछि बल्ल लोकेन्द्रबहादुर चन्दलगायतका पूर्वपञ्चहरूले फोन गरेको पूर्वराजा ज्ञानेन्द्रले मरीचमानलाई भनेको कुरा उनले मलाई सुनाएका थिए ।
भारतलाई खुसी पार्न बहुदलीय नेताहरूले आफ्नो राष्ट्रवादी अडानको स्मरण गर्नसमेत छाडेको उनको बुझाइ थियो । एकपटक मसँग भनेका थिए, ‘भारतीय पक्षधरलाई स्वीपआउट नगर्दासम्म नेपालको भलो हुँदैन । भारतीयको पहुँच प्रत्येक निकाय र ठाउँमा छ । पञ्चायतमा पनि हामीलाई दक्षिणबाट अनेक दबाब आउँथ्यो । तर, हामीले थेगेका थियौँ । अहिले त्यस्तो सामथ्र्य भएका कोही नेता भएनन् ।’
जीवनको उत्तराद्र्धमा रोगले थलिएर मरीचमानले ठूलो सास्ती खेप्नु प¥यो । पूर्वप्रधानमन्त्री उनलाई राज्यले कुनै सोधखोज गरेन । शुभेच्छुक र नातेदारले चन्दा उठाएर उनको उपचार गर्नुपरेको थियो ।
मरीचमानसँग हाम्रो परिवारको भावनात्मक सम्बन्ध थियो । प्रधानमन्त्री भइसकेका नेता क्यान्सर रोगबाट पीडित भएर दिल्लीको मेदान्त अस्पतालमा औषधि उपचार गर्दै गरेको खबर सार्वजनिक भएपछि मलाई बेचैनी भयो । उनका लागि केही न केही गर्नुपर्छ भन्ने भावना जाग्यो । मैले यो कुरा श्रीमती किरण आचार्यलाई भनेँ । व्यक्तिगत रूपमा आफ्नो हैसियत हेरी १० हजार भारुसम्म खातामा हालिदिने विचारमा थिएँ । तर, श्रीमतीले क्यान्सरको बिरामीलाई त्यति पैसा पठाउनुको कुनै अर्थ नहुने, बरू प्रयास गरौँ, केही नभए पनि ४÷६ दिनलाई औषधि पुग्ने पैसा पठाइदिऊ भनिन् । मैले मरीचमानलाई राम्ररी चिन्ने उनको सम्पर्कमा रहेका पत्रकार पूर्णलाल चुकेजीलाई फोन सम्पर्क गरेँ । उनी त्यो दिन बर्दियाको गुलरियामा रहेछन् । मैले फोनमा सबै कुरा भनिनँ । ‘मेरो घरमा आउनु, एउटा सल्लाह गर्नुछ’ भनेर अनुरोध गरेँ ।
चुकेजी गुलरियाबाट सीधै मेरो घरमा आए । हामीबीच खासखास व्यक्तिसँग सहयोग उठाएर मरीचमानको उपचारका लागि खर्च पठाइदिने सल्लाह भयो । कम्तीमा एक लाख भारु पठाइदिन सकिएला भनेर हामी लाग्यौँ । पूर्वसम्बन्ध र सम्पर्क रहेका व्यक्तिको विवरण बनाएर अनुरोध ग¥यौँ । सूची बनाइएका २३ जनालाई भेट्दा एक लाख भारु जम्मा भयो । र, बैंकमार्फत पैसा पठाइदियौँ । त्यसको भौचर सहयोगी दातालाई पनि सामाजिक सञ्जालमार्फत पठाइदियौँ ।
मरीचमानले राज्यबाट बाँचुन्जेल भोग्नु परेको तिरस्कार सम्भवतः त्यतिबेलाका कुनै पनि सत्तामा पुगेका व्यक्तिले भोग्नु परेन । सरकार पक्षको अर्गेलो व्यवहारले उनीपछि सत्तामा पुगेकाहरू उनीप्रति कति पूर्वाग्रही थिए भन्ने देखाउँछ । उनी पञ्चायतका घोडा त थिए तर भारतीय नाकाबन्दीका बेला नेपाली स्वाभिमानको शिर झुक्न नदिने नेता पनि त उनै थिए । विचार भिन्न हुँदैमा राज्यले देशको प्रधानमन्त्री भइसकेको व्यक्तिप्रति त्यस्तो व्यवहार गर्नु हुँदैनथ्यो ।
बीपी कोइराला पञ्चायतविरोधी थिए । राजासँगै उनको ठूलो विमति थियो । तर, उनी बिरामी हुँदा पञ्चायती सरकारले नै उपचार खर्च व्यहोरेको थियो । पञ्चले जति पनि बहुदलवादी कांग्रेस र कम्युनिस्टले उनीप्रति व्यवहार गर्न सकेनन् ।
बिरामी हुँदा राज्यका तर्फबाट मरीचमानलाई न आर्थिक सहयोग मिल्यो, न त मृत्युपरान्त दिनुपर्ने सम्मान नै दिइयो । उनीप्रति श्रद्धाञ्जली दिन जाने सर्वसाधारणको उपस्थिति देखेर पशुपति आर्यघाटमा हतारहतार सलामी दिने प्रपञ्च रचिएको थियो । त्यसलाई उनका घरपरिवारले अस्वीकार गरिदिएका थिए ।
हाम्रै जीवनकालमा देखेका यस्ता घटनाले राष्ट्रको हित, राष्ट्रिय स्वभिमान र राष्ट्रिय अखण्डताप्रति सजक प्रत्येक नागरिकले राज्यबाट यस्तै बेवास्ता सहनुपर्छ भन्ने नकारात्मक सन्देश दिएको छ । मरीचमान पञ्चायती शासक थिए । २०४६ सालको जनआन्दोलन दमन गरेको दोष उनीमाथि थियो । उनका थुप्रै कमजोरी थिए । तर, राष्ट्रियताको मामिलामा उनको कद बहुदलीय व्यवस्थाका धेरै नेताभन्दा अग्लो थियो ।

(क्रियटिभ बुक्सले प्रकाशन गरेको प्रा.डा. जनार्दन आचार्यको मेरो ‘आदर्श, मेरो विश्वास’ पुस्तकबाट । पढ्न इच्छुकले ९८५१०९३२३४ मा सम्पर्क गर्नुहोला ।)


error: यो सुविधा उपलब्ध छैन !