विश्वविद्यालयका लागि खजुराले सय विगाह जमिन दिने
खजुरा – बाँकेको खजुरा गाउँपालिकाले नेपालगञ्ज विश्वविद्यालयका लागि सय विगाह जमिन दिने निर्णय गरेको छ । खजुरा गाउँपालिकाको आइतबार बसेको बोर्ड बैठकले सो निर्णय गरेको हो ।
खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले खजुरा क्षेत्रभित्र सय विगाह जमिन दिने गरी निर्णय भएको जानकारी दिनुभयो । उहाँले शिक्षा क्षेत्रको विकासका लागि खजुरा गाउँपालिका सँधै अग्रसर रहेको उल्लेख गर्दै विश्वविद्यालयका लागि उक्त निर्णय भएको बताउनुभयो ।
खजुरामा हाल २ वटा प्राविधिक धारका मावि छन् भने जनता नमूना माविमा कृषितर्फ बिएस्सीएजी आगामी शैक्षिक सत्रदेखि शुरु हुँदैछ । खजुरामा मदरसा, आधारभूत, आधारभूत कक्षा (६–८) र मावि गरी ६५ विद्यालय छन् भने एक क्याम्पस रहेको छ ।
कुनै बेला निकै बहसमा रहेको नेपालगञ्ज विश्वविद्यालयको मुद्दा फेरी चर्चामा आउन थालेको छ । विश्वविद्यालयका लागि विगतमा थुप्रै आन्दोलन हुनुका साथै राजनीतिक दलहरुको नारा र घोषणापत्र समेत बन्ने गरेको थियो ।