डुडुवामा कार्यालय प्रमुखको मासिक बैठक

नेपालगञ्ज – बाँके जिल्लाका सरकारी कार्यालय प्रमुखहरुको मासिक बैठक आइतबार डुडुवा गाउँपालिकामा बसेको छ । डुडुवा गाउँपालिकाको स्वागतमा भएको बैठकले कार्यालयहरुले प्रवाह गर्ने सेवा सुविधाबारे प्रगति तथा समीक्षा गरी थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।
बैठकलाई स्वागत गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले स्थानीय सरकारका कामकारवाही प्रक्रियालाई प्रभावकारी बनाउन कार्यालय प्रमुखहरुको विशेष भूमिका रहेकाले स्थानीय तहलाई पनि सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले गाउँपालिकाका कार्ययोजना, कामकारबाही प्रक्रिया, सेवाको गुणस्तरीयता प्रभावकारिता, सेवाग्राहीका अपेक्षा र विकास निमार्णका कार्य लगायतका विषयमा जानकारी गराउनु भएको थियो ।
बैठकमा जिल्लाका सम्पूर्ण कार्यालयका प्रमुखहरुले आ–आफ्नो कार्यालयबाट सम्पादन हुने कार्यप्रगति, समस्या तथा चुनौतीका बारेमा प्रस्तुतीकरण गरेका थिए । बैठकमा प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले सरकारी कार्यालयका काम कारबाही प्रक्रियालाई गुणस्तरीय तथा प्रभावकारी बनाई सुशासनमुखी कार्यमा जोड दिदै निर्देशन दिनुभयो । उहाँले नेपाल सरकारको विद्यमान कानून तथा नागरिक वडापत्र अनुसारको सेवा निर्धक्कका साथ प्रवाह गर्न आग्रह गर्नुभयो ।
बैठकमा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, प्रहरी प्रमुख वीरबहादुर ओली लगायत विभिन्न सरकारी कार्यालयका प्रमुहहरुको सहभागिता रहेको थियो । गम्भीर रुपमा छलफल तथा कार्ययोजनाका लागि कार्यालय प्रमुखहरुको नियमित मासिक बैठक विभिन्न स्थानीय तहहरुमा बस्ने गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !