नाकामा लब्ली र ब्यूटीको जाँच

नेपालगञ्ज – नेपालगञ्ज नाकामा तालिम प्राप्त कुकुरसहितको विशेष जाँच गरिएको छ ।
भारतबाट नेपाल प्रवेश गरेका सबैलाई जमुनाहा नाकामा शनिबार विहान दुई वटा तालिम प्राप्त कुकुरसहितको जाँच गरिएको हो ।
नेपाल प्रहरीको दुई वटा कुकुर लब्ली र ब्यूटीले भारतबाट नेपाल आएका मानिस, सवारी साधनलाई जाँच गरेको थियो । लब्लीले विष्फोटक पदार्थ र हात हतियार तथा ब्यूटीले लागु औषधी सम्बन्धी जाँच गरेको थियो ।
नेपालगञ्ज नाकामा यतिबेला दशैं मान्न आउनेको भीडभाड रहेको छ । नाका खुलेका किनमेलका लागि रुपैडिहा जानेको उस्तै भीड बढेको छ । प्रहरीले दशैं लक्षित सुरक्षा योजनाअन्तर्गत नाकामा कुकुरसहितको जाँच गरेको थियो । दुई वटा तालिम प्राप्त कुकुर लिएर प्रहरी निरीक्षकद्वय बासुदेव सुवेदी र ईश्वर गिरी नाकामा पुगेका थिए ।


नेपालगञ्ज नाकामा बेलाबेलामा यस्तो जाँच हुने गर्दछ । सीमावर्ती भारतीय शहर रुपैडिहाबाट लागु औषधी किनेर फर्किने गरिन्छ । नाकामा खटिएको प्रहरीले विशेष सुराकीका आधारमा र केहीलाई शंका लागेर जाँच गर्दा लागु औषधी बरामद गर्ने गर्दछ । तालिम प्राप्त कुकुरको मद्दतले प्रहरीले लागु औषधी बरामद गर्ने गरेको पनि छ । शनिबार विहान भने केही फेला परेन । नाकामा प्रायः सबै कालापहाडबाट दशैं मान्न घर फर्किएका नेपालीको भीड रहेकाले उनीहरुको साथमा कुनै अवैध सामान फेला परेन ।
नेपालगञ्ज नाकामा केही दिनयता भारतबाट फर्किने नेपालीलाई खोप लगाएर पठाउने गरिएको छ । एन्टिजेन जाँच चैत्रदेखि नै भइरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !