बलैगाउँ नाकामा सुरक्षित सञ्जाल

बर्दिया – बढैयाताल गाउँपालिकाको बलैगाउँ सीमा नाकालाई लक्षित गरेर मानब बेचबिखन रोकथामका सुरक्षित सञ्जाल गठन गरिएको छ । बलैगाउँ नाकामा माइती नेपालले सूचना तथा परामर्श केन्द्र स्थापना गरेर काम गर्दै आएको छ ।
बढैयाताल गाउँपालिकाको वडा नं. २ मा पर्ने बलैगाउँ नाकालाई लक्षित गरी जीतबहादुर विकको अध्यक्षतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, वडा समितिका सदस्य, स्थानीय आमा समूह, स्वास्थ प्रतिनिधि, स्थानीय शिक्षक विद्यार्थी, युवासमेतको सहभागीतामा सञ्जाल गठन गरिएको माइती नेपाल, बर्दियाका संयोजक गायत्री रिमालले जानकारी दिनुभयो ।
उक्त सञ्जालले स्थानीय स्तरमा नयाँ एवं शंकास्पद ब्यक्ति आएको थाहा भएमा सोधपुछ एवं निगरानी गर्ने, जोखिमपूर्ण यात्रामा रहेका शंका लागेका ब्यक्तिलाई सोधपुछ एवं परामर्श दिने, सीमा निगरानी गर्ने, आबश्यकता परेमा नेपाल प्रहरी, माइती नेपाल समेतलाई सूचना एवं जानकारी दिने कार्य गर्नेछन् ।
सञ्जालले सक्रिय रुपमा काम गरी मानब बेचबिखन तथा ओसारपसार न्यूनीकरणका लागी रोकथाम, परामर्श लगायतका कार्य गर्ने प्रतिबद्धता सञ्जालका अध्यक्ष विक र बढैयाताल गाउँपालिकाका वडा नं. २ का वडाध्यक्ष काजीमान सुनार लगायतले गर्नु भएको थियो । सञ्जाल गठन कार्यक्रममा मानब बेचबिखनको अबस्था, स्थानीय समुदायको भूमिका समेतकाबारेमा माइती नेपाल, बर्दियाकी संयोजक रिमालले प्रकाश पार्नु भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !