नाकामा ‘एन्टिजेन’ किन जाँच्ने ?

नेपालगञ्ज – नेपालगञ्ज नाकामा ‘एन्टिजेन’ किन जाँच्ने चौतर्फी प्रश्न उठ्न थालेको छ । एन्टिजेन जाँचेपछि पोजिटिभ आएकालाई सिधैं घर पठाइदिने हो भने त्यस्तो जाँचको कुनै मतलव छैन भन्ने आवाज उठेको छ ।
यतिबेला भारतबाट ठूलो संख्याका नेपाली घर फर्किरहेका छन् । कामका सिलसिलामा भारतमा पुगेका उनीहरु दशैं मान्न घर फर्किरहेका छन् । ती मानिसहरुलाई नेपालगञ्ज नाकामा लाइन लगाएर एन्टिजेन जाँच गर्ने गरिन्छ । ठूलो भीड हुने र एक ठाउँमा मात्रै जाँच हुँदा धेरै मानिसले अनाहकमा दुःख पाइरहेका छन् । यहीबेलामा एन्टिजेन जाँच गर्न लाइन लागेर बस्नु भन्दा सय रुपैया प्रहरीलाई दिएर अगाडि बढ्न सजिलो मान्नेको पनि कमी छैन ।
नेपालगञ्ज नाकामा चैत्र महिनादेखि नै एन्टिजेन जाँच भइरहेको छ । भारतबाट आएका व्यक्तिलाई कोरोना जाँच हुनु राम्रो कुरा हो । तर, पोजिटिभ देखिएपनि सिधैं घरमै पठाइदिने हो भने एन्टिजेन किन जाँच्नु प¥यो । त्यसै पठाइदिए भइहाल्यो नि । खाली भारतबाट आएका व्यक्ति कतिलाई कोरोना देखियो भन्ने रेकर्ड राख्न जाँच गर्ने हो र ?
असोज महिनामा नाकामा एन्टिजेन जाँच गर्दा नौ जनालाई कोरोना पुष्टि भएको ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार, असोजमा चार हजार पाँच सय जनाको जाँच भएको छ । सरदर हेर्दा पाँच सय जनामा एकजनालाई कोरोना पुष्टि भएको छ ।
ल्याब टेक्निसियन ज्ञवालीले समूहमा आएका व्यक्तिमध्ये केहीलाई जाँच गर्ने र पोजिटिभ आएपनि काउन्सिलिङ गरेर घर पठाइदिने गरेको बताउनुभयो ।
कोरोना पोजिटिभ पुष्टि भएपछि त्यस व्यक्तिको अवस्था कस्तो हुन्छ होला ? उसका साथीसंगी, छिमेकी र घरपरिवारमा कस्तो तनाव हुन्छ होला ? यस विषयमा कसैले सोचेको छैन । नाकामा बसेर कोरोना पोजिटिभको ट्याग लगाएर पठाइदिने काम मात्रै भएको छ ।
नाकामा एक ठाउँमा मात्रै कोरोना जाँच हुँदा धेरै मानिस लाइनमा धेरै बेरसम्म बस्नु परिरहेको छ । यसलाई छिटो छरितो गराउन दुई ठाउँमा जाँच गर्ने व्यवस्था मिलाउन थालिएको छ । बाँके प्रहरीका प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले दुई ठाउँमा एन्टिजेन जाँच हुन सकेमा भारतबाट आएका व्यक्तिलाई सहज हुने बताउनुभयो ।
भारतको कालापहाड, सिमला, प्रयागलगायतका ठाउँबाट मजदुरी गरेर फर्किनेसँग यसपटक नाकामा प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीले सय रुपैया असुल हुनुमा एन्टिजेन जाँच पनि एउटा कारण देखिएपछि जाँच गर्ने ठाउँ बढाउन थालिएको छ । एउटै ठाउँमा जाँच हुँदा धेरैबेर लाग्ने र प्रहरीलाई सय रुपैया दिएपछि सजिलै जान पाइने भएकाले कालापहाडेहरु सय रुपैया दिन इच्छुक हुने गरेको पाइएको छ । त्यसमा अझ होटल सञ्चालकहरुले नाकामै पुगेर भारतबाट फर्किने व्यक्तिलाई लाइन लागेर झन्झट व्यहोर्नु भन्दा सय रुपैया दिएर फटाफट हिड्न सुझाव दिने गरेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !