जमुनाहाका १७ प्रहरी तानिए
नेपालगञ्ज – नेपालगञ्ज नाका जमुनाहाका डेढ दर्जन प्रहरी तानिएका छन् ।
भारतमा मजदुरी गरेर फर्किने कालापहाडेबाट पैसा उठाएको गुनासो आएपछि विहान नाकामा पुगेका एसपी श्यामकृष्ण अधिकारी र डीएसपी मधुसुदन न्यौपानेले नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाका १७ जना प्रहरी परिवर्तन गरेका हुन् ।
प्रहरीले नाकामा दशैं मान्न फर्किने नेपालीबाट पचास सय रुपैया असुल्ने गरेको गुनासो आएको थियो । सादा पोशाकमा मुख छोपेर नाकामा पुगेका एसपी अधिकारी र डीएसपी न्यौपानेले डिउटीमा रहेका प्रहरीको काम चित्तबुझ्दो नरहेको पाएका थिए । डीएसपी न्यौपानेले लामो समयदेखि नाकामा बसेका र काम चित्तबुझ्दो नगरेकाहरुलाई आजै परिवर्तन गरेको बताउनुभयो ।
एसपी अधिकारीले भारतको कालापहाड, सिमला, प्रयागलगायतका ठाउँबाट काम गरेर फर्किनेको झोला जाँच नगर्न निर्देशन दिएका छन् । डीएसपी न्यौपानेले भन्नुभयो, विशेष सूचनाका आधारमाबाहेक कालापहाडेको झोला नखोतल्न निर्देशन दिएका छौं ।
कर्णाली प्रदेशका विभिन्न जिल्लाका मानिसहरु भारतको कालापहाड, सिमला, प्रयागलगायत ठाउँमा मौसमी कामका लागि मजदुरीमा जाने गर्दछन् । उनीहरु चाडबाड मान्न घर फर्किरहेका छन् । नेपालगञ्ज नाकाबाट अहिले दैनिक एक हजार बढी मानिस घर फर्किरहेका छन् । दुःख गरेर कमाएको रकम नाकामा प्रहरी, रिक्सावाला र होटल सञ्चालकबाट ठगिने गरेका छन् । रिक्सा चालकसँग मिलेका होटल सञ्चालक नाकामै पुग्ने गर्दछन् । उनीहरुलाई तानेर आफ्नो होटलमा ल्याउने गर्दछन् । प्रहरीले त्यसरी नाकामा पुग्ने होटल सञ्चालक र बदमासी गर्ने रिक्साचालकप्रति पनि कडा निगरानी राख्न निर्देशन दिएको छ ।