बाँके प्रहरीले भन्यो, गहना लगाएर एक्लै नहिडौ
नेपालगञ्ज – बाँके प्रहरीले गरगहना लगाएर एक्लै हिड्डुल नगर्न सचेत गराएको छ ।
चाडबाड लक्षित १९ बुँदे जनहितमा सूचना जारी गर्दै प्रहरीले भनेको छ, चाड पर्वको अवसर पारेर अनावश्यक गरगरहनाको प्रदर्शन नगरौं, गरगहना लगाएर एक्लै हिड्डुल नगर्नुहोस् ।
प्रहरीले दशैं र तिहारमा लामो समयसम्म घर छोड्नु परेमा छिमेकी र नजिकको प्रहरीलाई खबर गर्न आग्रह गरेको छ । घर, टोल आसपासमा शंकास्पद व्यक्ति देख्ने वित्तिकै प्रहरीलाई खबर गर्न भनिएको छ ।
आर्थिक कारोबार हुने ठाउँहरुमा चोरी, डकैती, लुटपाट हुन सक्ने भएकाले व्यक्तिगत रुपमा सचेत हुन आग्रह गरिएको छ । बैंकहरुबाट पैसा झिक्दा र राख्दा वा हिड्डुल गर्दा सचेत रहन भनिएको छ । प्रहरीले यात्रा गर्दा अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान सम्झाएको छ । प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाउन, जुवातास नखेल्न आग्रह गरेको छ ।
जिल्लामा कुनै पनि ठाउँमा शंकास्पद गतिविधि भएमा फोन गर्नका लागि प्रहरी कन्ट्रोल, सञ्चार र कार्यालय प्रमुखको नम्बर दिइएको छ ।