नेपालगञ्ज म्याराथनको रुट उत्कृष्ट – पार्की
काठमाडौं – नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता धावक गोपीचन्द्र पार्कीले नेपालगञ्ज म्याराथनको रुटलाई उत्कृष्ट भनेका छन् ।
सेप्टेम्बर २६ मा जर्मनीमा हुने बर्लिन म्याराथनमा भाग लिन जानु अघि भएको बिदाई कार्यक्रममा पार्कीले राम्रो रुट रहेको नेपालगञ्ज म्याराथनमा सबै खेलाडीले आफ्नो रेकर्ड ब्रेक गर्ने अवसर पाउने भएकाले सरकारले नेपालगञ्ज म्याराथनलाई प्राथमिकतामा राख्नु पर्ने बताए ।
गतवर्ष टोकियो ओलम्पिक २०२० को छनोटका रुपमा रहेको छैटौं धारा नेपालगञ्ज म्याराथन पार्कीले बाजी मारेका थिए । पार्कीले नेपालगञ्ज म्याराजन २ घण्टा १८ मिनेट ५९ सेकेण्डमा पुरा गरेका थिए । क्रियटिभ ह्याण्ड्सको आयोजनामा हरेक वर्ष हुने नेपालगञ्ज म्याराथनलाई गतवर्ष टोकियो ओलम्पिकको छनोटका रुपमा मान्यता दिइएको थियो । यद्यपि, प्राविधिक कारणवश पार्कीले टोकियो ओलम्पिकमा भाग लिन पाएनन् । त्यसका वावजुद पनि पार्कीको प्रशिक्षण निरन्तर रहिरह्यो । जसले गर्दा बर्लिन म्याराथनमा भाग लिने मौका पाएका छन् ।
क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरीले पार्कीलाई सफलताको शुभकामना दिए । अध्यक्ष ठकुरीले भने, नेपालगञ्ज म्याराथनको सातौं संस्करण नजिकिदै गर्दा पार्कीको बर्लिन म्याराथनको सहभागितालाई क्रियटिभ ह्याण्ड्स परिवार थप उत्साहित भएका छौं । यही अवसरमा हामीले उहाँलाई प्रोत्साहत स्वरुप केल्मीका टिसर्ट, ट्रयाकसुट, ब्याग प्रदान गरेका छौं ।
अध्यक्ष ठकुरीले बर्लिन म्याराथनबाट फर्केपछि गोपीचन्द्र यसपटकको सातौं धारा नेपालगञ्ज म्याराथनमा प्रतिस्पर्धाका लागि तयारीमा जुट्नु हुने विश्वास गरे । सातौं धारा नेपालगञ्ज म्याराथनको आयोजनाका विषयमा विस्तृत आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी भइरहेको छ ।
यसैबीच, राखेपका सदस्य सचिव रमेश सिलवालले पार्कीले एक कार्यक्रममा विदाई गरेका छन् । पार्की मंगलबार बेलुका ८.४० बजे कतार एयरवेजबाट बर्लिन प्रस्थान गर्नेछन् । उनको प्रशिक्षकमा सन्तोष श्रेष्ठ रहेका छन् ।