समावेशीको १४ बुँदे प्रतिबद्धतापत्र

नेपालगञ्ज – नेपालगञ्ज उद्योग बाणिज्य संघको चुनावमा होमिएको समावेशी प्यानलले १४ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।
अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’को नेतृत्वमा समावेशी प्यानल चुनावी मैदानमा उत्रिएको छ । संघको माघ ११ गते चुनाव हुँदैछ ।
समावेशीले सामाजिक उत्तरदायित्वतर्फ चार र व्यवसायिक समस्यातर्फको दश बुँदा प्रतिबद्धता पत्रमा समेटेको छ । सामाजिक उत्तरदायित्वतर्फ बहुउद्देश्यीय सभागृह र प्रदर्शनी स्थलका लागि सरकारबाट भोगााधिकार प्राप्त सडक डिभिजन परिसरको जग्गा प्राप्तीलाई प्राथमिकता दिने, नेपालगञ्जमा उद्योगको संख्या बढाउने, नेपाल र भारत व्यापारको ढोका खोल्ने, एकीकृत भन्सार चेकपोष्ट, रेलमार्ग विस्तार, नौबस्ता औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्रजस्ता योजना कार्यान्वयन गर्दै सानादेखि ठूला लगानीका उद्योग, कलकारखाना स्थापना गर्नका लागि लगानी आकर्षित गर्ने प्रतिबद्धता गरिएको छ ।


समावेशीले बाँकेको विकासमा साझा अवधारणा तयार गरी अगाडि बढ्ने वातावरण बनाउने, पर्यटन व्यवसायलाई उकास्न निजी क्षेत्रको तर्फबाट प्रभावकारी काम गराउन पहल गर्ने, नेपालगञ्जलाई गुल्जार गराउन सरोकारवाला निकायको ध्यानाकर्षण गराउने प्रतिबद्धता गरेको छ ।


व्यवसायिकतर्फ सीमापारी आकर्षित भइरहेका उपभोक्तालाई रोकिने, संघलाई सबै क्षेत्रका उद्योगी व्यवसायीको अपनत्व महसुस हुने विधानतः व्यवस्था मिलाइने, नेपालगञ्जलाई जडीबुटी भण्डारण, प्रशोधन र निर्यातको हक बनाउन बनाउन पहल गर्ने, सरकारले हतारमा ल्याएको सामाजिक सुरक्षा कोष, भीसीटीएस र प्यानबाट पारिश्रमिक भुक्तानीजस्ता निर्णय कार्यान्वयनका लागि पर्याप्त समय चाहिने भएकाले त्यसको पहल गर्ने, बैंक तथा बित्तीय संस्थाबाट लिने कर्जामा अस्थिर व्याजदरको समस्या समाधान गर्न निरन्तर प्रयास गर्ने, करको दर होइन, दायरा फराकिलो बनाउन राज्यको ध्यानाकर्षण गर्ने, नयाँ नयाँ जारी हुने कर प्रणालीका बारेमा उद्योगी, व्यवसायी जानकार नहुँदा थुप्रै समस्या सिर्जना हुने गरेकाले कर शिक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउने, सञ्चार क्षेत्रसँग सहकार्यलागि स्पष्ट कार्ययोजना बनाउने, उद्योगी व्यवसायीहरुलाई पर्न आउने व्यवसायिक पीरमर्कालाई शीघ्र तथा तत्काल सम्बोधन गर्नका लागि पदाधिकारीकै नेतृत्वमा हेल्प टिम बनाउने प्रतिबद्धता गरिएको छ ।


समावेशी प्यानलका संरक्षक दामोदर आचार्य, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, उद्योगी व्यवसायीहरु विजय गुप्ता, मधुसुदन शर्मा, कन्हैयालाल बैद्य, कपिल अधिकारी, ईश्वर पोखरेल, अशोक कर्माचार्य, दुर्गा भण्डारी, भाष्कर काफ्लेलगायतको घोषणा पत्र सार्वजनिक कार्यक्रममा उपस्थिति रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !