किशोरीलाई जीवन उपयोगी तालिम

बर्दिया – प्लान ईन्टरनेशलन नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (बि ग्रुप) बाँके साझेदारीमा सञ्चालित बाल विवाह, चाँडो विवाह र जवरजस्ती विवाह रोकथाम परियोजनाअन्तर्गत १८ देखि २४ बर्ष उमेर समूहका किशोरीलाई जीवन उपयोगी सीप, उद्यमशीलता र व्यवसायीक योजना सम्बन्धि पाँच दिने तालिम शुरु भएको छ ।
प्लान ईन्टरनेशनल नेपालका उक्त परियोजना प्रबन्धक अम्बिकाप्रसाद तिम्लिसिनाले बिद्यालय जान छोडेका, यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको ज्ञानको अभाव, आर्थिक विपन्नता, परम्परागत हानिकारक मूल्य मान्यता र संरक्षणको अभावले बालविवाह, चाँडो विवाह र जबरजस्ती विवाह हुने पाँच कारण रहेको र ती पाँच कारण मध्ये दलित तथा आर्थिक विपन्नता परिवारका किशोरीलाई आयमूलक कार्यमा सहभागी गराई बालविवाह, चाँडो विवाह र जबरजस्ती विवाह रोक्ने लक्ष्य परियोजनाले लिएको बताउनु भयो ।
आर्थिक समस्याका कारण बिद्यालय जानबाट बञ्चित भएका र बालविवाहको जोखिममा पर्न सक्ने किशोरीलाई उद्यमशील बनाई आर्थिक आयआर्जनका गतिविधिमा समावेश गराउने उद्देश्यले प्रारम्भिक चरणमा जीवन उपयोगी सीप, उद्यमशीलता र व्यवसायीक योजना तालिम सञ्चालन गरेको र तालिम पश्चात व्यवसायी योजना अनुसार सहभागीहरुलाई सिपमुलक तालिम सञ्चालन गरिने परियोजना संयोजक दिनेशकुमार चौधरीले बताउनुभयो ।
५ दिनसम्म सञ्चालन हुने तालिममा दलित, जनजाती, विपन्न परिवार र प्रत्याभुत परिवारबाट गरी जम्मा २५ जनाको सहभागी रहेको छ । उक्त तालिमको सहजिकरण रामकुमारी चौधरीले गरिरहनु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !