पश्चिमा ‘इन्साइक्लोपेडिया’ सनत रेग्मी
राजधानीको एउटा त्यो पाँच तारे होटलको कुनामा रहेको टेबुलमुनि परेको किताबमा मेरा नजरहरु गएर रोकिए–टक्क । मेरो हातमा कफीको कप थियो, त्यो किताब नजिक पुग्न मेरा पाइला अगाडी बढे तर किताब उठाउन अवरोध कफीको कप र प्लेट भएपछि मलाई अप्ठेरो महशुस भयो । किताब प्रेम बढेर गयो, कफी त्यागेर किताब उठाएँ ।
अलि–अलि धुलोले छोपिएकाले पुस्तक उठाएर पुछ्न मात्रै के थालेको थिँए, किताबलाई छोपिएको गाता च्यातियो । मन चस्क ग¥यो, त्यो च्यातिदाँ । विस्तारै किताबलाई खोलेर पढ्ने प्रयासमा जाँदा पृष्ठ ३० पल्टियो डा. खगेन्द्र प्रसाद लँुइटेलको नाम शीर्ष स्थानमा पढे । पाना आफै पल्टिगयो लाग्यो डा.लुइटेलको कुनै कृति रहेछ । फेरी उहि पृष्ठ ३० पल्टाएँ सनत रेग्मीको कथा शिल्प लेखिएको तर्फ मेरो ध्यान केन्द्रित रह्यो । व्यक्ति परिचय पढ्दा लाग्यो–म त नेपालगञ्जको त्रिभुवन चौकमा उभिएको छु ।
पृष्ठ ३० र ३१ पढि सकेपछि हतारिदै विषयसूचि पल्टाउन पुगे, सृजन लम्साल दाजुको सम्पादकीय पछि रहेको विषयक्रम हेरेपछि साहित्यको खुराक भेटियो मेरो लागि–यस्तै अनुभव भयो । म राजधानीको त्यो बसाई पछि नेपालगञ्ज फर्किए मलाई निकै आनन्दको अनुभव भएको थियो, त्यो किताब भेटाएकोमा । पढ्दै जाँदा त्यो त सनत रेग्मी विशेषाङ्क पो रहेछ । पूर्णाङ्क १२ (असोज–मङ्सिर, २०६४)
उक्त पुस्तकले मलाई त्यो अवसर दियो जो मैले नेपालगञ्जमा बसेर भेट्टाएको थिएन किनकी मैले त चाहन्थे सनत दाजुको सामिप्यतामा केही साहित्यको कुरा गरौ, धेरै सिकौ, केही आफ्ना सृजना पनि सुनाउँ तर पनि त्यो मिल्दैन । एक्कासी मित्रता जोड्न गाह्रो विषय तर समयले त्यो असफल भइरहेको छु ।
मानिस अरुका विषयमा धेरै बोल्न सक्छ चाहे त्यो आलोचना होस् या फेरी प्रसंसा तर मैले जब सनत दाजुको ‘ऐनासामु’ पढें तब मलाई लाग्यो आफ्नो तस्वीर हेर्न र आफ्नोबारे बोल्न कति कठिन हँुदोरहेछ । यदि तपाई साहित्यलाई माया गर्नु हुन्छ भने अनि साहित्य अनुरागी हुुनुहुन्छ भने सनत रेग्मी कुनै नौलो नाम होइन । धेरैले लछमनियाको गौना भनेपछि चिन्ने गर्दछन् उनलाई तर २० को दशकका साहित्यकारहरु मातृत्वको चित्कार (२०२४) बाटै सनत रेग्मीलाई जान्दछन्, चिन्दछन् अनि उहिल्यैबाट पढ्दै आइरहेका छन् ।
राजधानीदेखि निकै पश्चिममा रहेको नेपालगञ्ज (बाँके जिल्ला) आफैमा यात्राका हिसाबले लामो यात्रा छ, त्यसरी नै कथा लेखनको हिसाबमा सनत रेग्मीको यात्रा यस्तै रहेको छ । नेपालगञ्ज–राजधानी, कथा–सनत रेग्मी यो नै वास्तविकता हो ।
मानवीय संवेदनालाई मूल आधार मानेर मानवीय अस्तीत्वलाई विर्सिएर कथाकार रेग्मीलाई पढ्न नसकिने मेरो अनुभव छ । एउटा व्यक्ति सवैका नजरमा कस्तो होला ? एउटा गम्भीर प्रश्न हो । अझ सार्वजनिक र निजी दुवै जिन्दगी विताउने व्यक्ति कसका नजरमा कस्तो हुन्छ सवैका लागि फरक नै होला–मेरो अनुमान मात्रै हो ।
तपाईलाई लाग्ला यसले लेख्न के खोजेको भन्ने ? स्वभाविकै हुनेछ यदि त्यो सोचाई तपाईमा हावी भयो भने तर यथार्थतामा त्यो व्यक्ति जो समाजलाई केही दिइरहेको छ उसलाई क–कसले कसरी चिनेका छन् त ? एउटा जिज्ञांसा म भित्र जन्मियो त्यो भन्दा पहिले नै म स्वयं सनत दाजुका बारेमा अन्यौलमा छु– उहाँ राजनीतिज्ञ हो की, साहित्यकार हो की, समाजसेवी या त …………….? अझै म नेपालगञ्ज शहरको कुनै एउटा घरको छतमूनि रहेको चार भित्ताको कोठाबाट नभएर शहरको मुटु त्रिभुवन चौकबाट बुझ्न खोज्दै छु सनत हो के ? मलाई थाहा छैन म गलत छु या सही छु, एउटा युवक ७ दशक पार गरेकालाई चिन्न खोज्दैछ । मात्र यति हो । यदि तपाई मेरो र सनत रेग्मी विचको सम्बन्ध बुझ्न चाहानु हुन्छ भने उहाँ कथाकार म पाठक मात्र । यही हो हाम्रो साइनो र नाता जिल्लावासीको छ ।
मलाई थाह छैन उहाँ मलाई चिन्नु हन्छ वा चिन्नु हुन्न । यो कुनै महत्वको विषय पनि होइन तर म पनि नेपालगञ्जवासी वहाँ पनि नेपालगञ्जवासी म त उहाँलाई त्रिभुवन चौकका मालि भन्न रुचाउछु । पूर्व–राजधानी–नेपालगञ्जको यो दुरीमा पूर्व र पश्चिमलाई जोड्ने ‘साँघु’ भन्न मन लागेर आयो कथाकार सनत रेग्मीलाई । मोसफलमा क्रियाशीलहरु राजधानीबाट उपेक्षित हुन्छन् भन्ने सोचाईलाई चिर्दै कथाकार रेग्मी राष्ट्रिय प्रतिभा पुरस्कार (२०५५) बाट सम्मानित भइसकेका कथा जगतका ती नक्षत्र हुन् जो मोसफललाई छाड्नै सक्दैनन् । प्रज्ञा प्रतिष्ठानको सदस्य सचिवको कार्यभार सम्पन्न गरिसकेका सनत रेग्मी फेरी नेपालगञ्ज फर्किनुभएको छ । अबको उहाँको यात्रा राजनीति वा साहित्य या त समाजसेवा ?
तपाई चिन्नु हुन्छ ? कथा पढ्नु हन्छु ? नेपालगञ्ज बस्नुभएको छ ? कतै भेटाउनु भएको छ की ? उनै सनत रेग्मीका कुरा गरिरहेको छु । आखिर कसले के भन्दा रहेछन् र कसरी चिन्दा रहेछन् त ? (अनि अब चिन्नुहोस तपाई पनि) तर ‘राइटर सुड बि रिड, नट सिन’ रस्किनको भनाई सम्झना आउँदछ । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा २०५६–२०६१ सम्म सँगै काम गरेका डा. तुलसी भट्टराईले पनि सनत रेग्मीलाई राम्ररी जान्दछु भन्ने आँट गर्न सक्दैनन् भने तपाई र म कमसेकम चिन्न त सकौ ।
प्रसंगै उही हो सनत हो के ? भाउ पन्थी पनि सनतलाई कसरी चित्रण गर्ने भन्नेमा अन्यौलमा परेको मैले पाएँ । त्यस्तै डा. धु्रब चन्द्र गौतमले एउटा सरल व्यक्ति भनेर सनत रेग्मीलाई प्रस्तुत गर्नुले पनि मेरो जिज्ञासालाई केही मत्थर पारेको छ । दृष्टि विम्बमा मोहनराज शर्माले संवेदनशील प्राणी भनेर चिनाएका छन् कथाकार रेग्मीलाई । उता नवराज कट्टेलले कथाकार रेग्मीलाई सामाजिक कथाकार भनेर चिनाउने प्रयास गरेका छन् । मैले यो पनि भेटाएको छु की कथाकार रेग्मी कथा फाँटका अथक यात्री हुन् भन्ने । डा. दुर्गा बहादुर घर्ति कथाकार रेग्मीलाई यसै भन्दा रहेछन् । मैले यसो भनिएको पनि भेटाए– आधुनिक नेपाली कथा विधामा स्थापित प्रतिभा हुन कथाकार रेग्मी । नेपाली समाजमा संख्यात्मक र गुणात्मक दृष्टिले प्रगति भइरहेको अवधिका एफ कथाकारको रुपमा डा. कृष्ण प्रसाद दाहालले सनत रेग्मीलाई चित्रण गरेकोपनि पाएको छु । अलिक फरक रुपमा मुरारी प्रसाद रेग्मीले समसामयिक कथाकार भनेर चिनाउने पनि प्रयास गरेका छन् कथाकार सनत रेग्मीलाई । कथा विश्लेषणका क्रममा राजेन्द्र सुवेदीले आख्यान साहित्यको एउटा कडी भनेका छन् कथाकार सनत रेग्मीलाई । यथार्थ फरक कथा लेख्ने कथाकार हुन् भनेका छन् डा. लक्ष्मण प्रसाद गौतमले । आधुनिक नेपाली कथामा परिपाटीबद्ध कथा लेखनको युगका एउटा कथाकार भनेर डा. खेम दहाल भन्छन् । रमेश गोर्खाली विचारणीय गुणवत्ता दिने कथाकार भन्छन् सनत रेग्मीलाई ।
मलाई झनै गाह्रो परेर आउँदैछ की सनत रेग्मी हो को ? डा. तारानाथ शर्माले विशिष्ट प्रतिभा भनेर भनेका छन् कथाकार रेग्मीलाई । मलाई जस्तै प्रश्न उठ्ने व्यक्तिहरुबीच साहित्यकार दैवज्ञराज न्यौपाने पनि रहेछन् । कथाकार सनत रेग्मीको ‘दिनान्त’ कथा संग्रह पढेपछि उनले भनेका छन्– ‘ नेपाली साहित्यको कथाकाशमा अर्काे तारा पनि चम्किन लागेको महशुस हुन्छ ।’ मोहन दुवेले गगनगञ्ज भित्रको उज्यालो प्रकाश भनेका छन्, नयनराज पाण्डे जसले सनत रेग्मीबाट धेरै सिक्ने अवसर पाए उनले सनत रेग्मी सधै वाँचिरहुन् भनेका छन् तर अलिक फरक शैलीमा सृजन लम्सालले कथाकार रेग्मीलाई पूर्ण रुपमा बुझेकोपनि बताएका छन् ।
नरेन्द्रजंग पिटरले पश्चिमेली इन्साइक्लोपेडिया भनेका छन्, कथाकार रेग्मीलाई …… आदी, इत्यादी । तर मैले चन्द्र ज्योत्सना र काली बादल (२०५५) पढि सकेको समयमा पनि सनत रेग्मी नेपालगञ्जको त्रिभुवन चौकमा हुन्छन् भन्ने थाह पाउन सकिन । बन्द कोठाहरुको सहर प्रकाशित हुँदा म २ वर्षको थिए रे । त्यसपछिको मेरो रुची म सनत रेग्मीका कथाहरु खोजी खोजी पढ्दथे तर रामोराम ! मलाई थाह थिएन उनको र मेरो बसाई नजिक नजिकै हो भन्ने । मातृत्वको चित्कार (२०४४) पढ्ने मौका पाएको छैन, अझ भनौ भने त्यो पढ्ने निकै इच्छा छ । दिनान्त (२०३५) लक्ष्मनियाको गौना (२०५१) सनत सत्य (२०५४) र सनत रेग्मीका प्रतिनिधि कथा (२०६०) बाट मैले चिने– योगराज रेग्मी (सनत) लाई ।
उनका सेवा र संलग्नतालाई सम्झिएर म लेख्नै सक्दिन सम्मान र पुरस्कार छुटाँए भने मलाई पाप लाग्ने छ तर म सवै उल्लेख गर्न सक्दिन । अब फेरी फर्किए आत्म मूल्यांकन ऐनासामु फर्किन मन लाग्यो– म सनत दाजुलाई जब देखि चिन्दछु पावरदार चस्मा मै चिन्दछु । उहाँलाई आफ्ना मित्रहरुले बाटो विराएर राजनीतिको भासमा भासिन खोज्ने दिशाहीन व्यक्ति भनेका परिचय समेत दिएको मैले बुझन् पाएँ । डा. केशब प्रसाद उपाध्यायले पुस्तक प्रेमी भनेको भनाइले मलाई निकै छुन्छ ।
अहो ! कत्रो विशाल खानी रहेको त्यो पुस्तकमा मेरा नजर परेका रहेछन् । त्यो राजधानीको पाँच तारे होटेलमा आयोजित त्यो कार्यक्रमले म दिक्क मानेर आफूलाई असहज महशुस गर्दाको समय भेटाएको त्यही पुस्तकले मलाई योगराजदेखि सनत, राजधानी क्षेत्र र कथा– साहित्यबारे थप बुझ्न सहयोग ग¥यो ।
यदि तपाई कसैले त्यो पाँच तारे होटलमा त्यो पुस्तक राख्नु भएको थियो भने म तपाईको नासो फिर्ता गर्न सक्दिन । क्षमा चाहन्छु । मुटु, माटो र शिल्प नहुने साहित्य, साहित्य नहुने मान्यता राख्ने कथाकार रेग्मीलाई मेरो साहित्यक सलाम छ ।