माधव पक्षको शर्तमाथि शर्त – ज्ञवाली

नेपालगञ्ज – नेकपा एमालेका सचिव एवं पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले माधव नेपाल पक्ष समूहले शर्तमाथि शर्त बढाउँदै लगेको बताउनु भएको छ ।
प्रेस चौतारी नेपाल, बाँकेले नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता ज्ञवालीले माधव नेपालको नाम नलिएर आफ्नै पार्टीको सरकार ढाल्ने असन्तुष्ट पक्षलाई मूलधारमा ल्याउने प्रयास भइरहेपनि शर्तमाथि शर्त तेस्र्याउने काम भइरहेको बताउनुभयो ।
‘शुरुमा जेठ २ गते फर्किने कुरा गर्नुभयो । हामीले त्यसलाई मान्यौ । सन्तुलन मिलाउन दश प्रतिशत मनोनित गर्ने कुरा भयो । फेरि दोस्रो अध्यक्ष भनियो । त्यसलाई पनि पार्टी अध्यक्षले मान्नु भयो, प्रवक्ता ज्ञवालीले भन्नुभयो, उहाँहरुले शर्तमाथि शर्त थपिरहनु भएको छ । हामी एकता जोगाउन हरसम्भव प्रयास गरिरहेका छौं ।’
ज्ञवालीले समान अध्यक्ष र हस्तक्षरमा कुरा अड्किएको जानकारी दिनुभयो । ज्ञवालीले महाधिवेशनमा पराजित नेताले समान अध्यक्ष र हस्ताक्षरको माग गर्नु जायज नभएको बताउनुभयो ।
एमालेले आगामी बैशाखमा महाधिवेशन गर्ने गरी पार्टीका गतिविधिहरु अगाडि बढाइरहेको छ । ज्ञवालीले फाल्गुनमा स्थानीय तहको चुनाव हुने भएकाले त्यसलाई ध्यानमा राखेर पार्टी संगठन चुस्त दुरुस्त बनाउनु पर्ने बताउनु भयो । उहाँले भदौ २७ र २८ गते विधान महाधिवेशन हुने जानकारी दिनुभयो ।
प्रवक्ता ज्ञवालीले वर्तमान सरकार अवसरवादको जगमा बनेको टिप्पणी गर्दै भन्नुभयो, ‘स्वार्थको गठजोडमा बनेको सरकारले जनता र राष्ट्रिय हितमा काम गर्न सक्दैन । सरकार प्रारम्भदेखि नै समस्यामा परेको छ ।’
अदालतको परमादेशबाट बनेको सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजी गरेर भूमिहीन सुकुम्बासीको अधिकार खोस्ने काम गरेको र भारतीय सुरक्षाकर्मीले तुइन काटेर नेपालीलाई बेपत्ता पारेको कुरामा बोल्न नसकेको भन्दै ज्ञवालीले आपत्ती जनाउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !