सुशील दा’सँग त्यो ५० मिनेट
(बसन्त शर्मा ) – विमानभित्रै विमान ‘हाइज्याक’ का कुरा गर्दा साँच्चिकै शरीरमा एक खालको तरङ्ग पैदा भयो।
विमान ‘रन वे’ मा आफ्नो गति लिन खोज्दै थियो, मेरा मनमा प्रश्नका गति उत्तिकै तेज हुँदै थिए।
विमान ‘टेक अफ’ सँगै मैले पनि आफ्नो प्रश्न ‘सुशील दा’ लाई तेर्स्याएँ, ‘तपाईं के साँच्चिकै हिरो बन्न हिँड्नुभएको हो त ?’
(कानमा कपास राखेका) सुशील दाले जवाफमा भन्नुभयो, ‘होइन यार। तिमी पनि बाबु, वास्तवमा म घुम्न हिँड्या थिएँ। तर, पछि आफूसँग भएको पैसा सकियो अनि के गर्ने। साथीभाइ र घरमा यसो जोगिनलाई भन्या हुँ।’
‘सुशील दा’ ले थप्नुभयो – ‘वास्तवमा मलाई सिनेमाको सौख भने थियो। आफू के बन्ने भन्ने करिअर बनाउन मैले सोच्नै पाइनँ।’
‘मै जिन्दगीका साथ निभाता चला गया‘’ मैले यो गीत थोरै गुनगुनाउँदै ‘सुशील दा’ लाई सोधें यो गीत कति पटक गाउनु भयो आजसम्मरु जवाफमा ‘सुशील दा’ ले भन्नुभयो, ‘वास्तवमा मलाइ यो गीत पुरै आउँदैन तर, अक्सर गुनगुनाउँछु, पूरा कहिल्यै गाएको छैन है।’
मैले ठ्याक्कै मिति त बिर्सिएँ तर, बुद्ध एयरको विमानमा नेपालगन्ज-काठमाडौं फ्लाइटमा ‘सुशील दा’ र म अन्तिम सिटमा सँगै बसेका थियौं।
आज स्व। सुशील कोइरालाको जन्मदिनको सन्दर्भमा उहाँलाई सम्झनलाई मात्रै होइन यथार्थ केलाइ दियौं भने पनि उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ भन्ने ठान्छु।
वास्तवमा उहाँ पार्टीमा रहँदासम्म म कांग्रेस पार्टीको सदस्य पनि थिइन। थिएँ त केवल, आवश्यकता पर्दाको एउटा म्यासेन्जर वा सहयोगी। खासगरी महाधिवेशन र चुनावको अंक गणित र समीकरणका विषयमा उहाँसँग कुराकानी हुन्थे। थप काम भनेको, मैले धेरै पटक ‘सुशील दा’ का हस्तलिखित पत्रहरु महत्वपूर्ण व्यक्तिहरु समक्ष पुर्याइदिएको छु (पुगाउन नसकेका ति अधुरा पत्रहरुसहित कुनै दिन समय जुराएर थप लेखुँला)।
पत्र पठाइसकेपछि पुष्टिका लागि फेरि सोही व्यक्तिलाई टेलिफोन गरेर बुझ्ने वा सम्बन्धित व्यक्तिले पत्र पाए(नपाएको तहकिकात गर्नु उहाँको स्वभाव थियो। पत्रहरु अक्सर निकै छोटा हुन्थे।
२०७० सालको संविधानसभा चुनाव ताका उहाँले मलाई केही महत्वपूर्ण काममा खटाउनुभएको थियो। कति काम निप्ट्याएँ, कति निप्ट्याउन सकिएनँ। त्यो लेखाजोखा उहाँले नै गर्नुभयो होला। तर, मलाई कहिल्यै गलत भयो भनेर औंल्याउनुभएन।
स्व। डा। अरुण कोइराला ९ ‘सुशील दा’ का भाइ० को घरमा उहाँको टेलिफोन रुममा बसेर संविधानसभा २०७० निर्वाचनका बारेमा केही छलफल गरिरहेका थियौं। ‘सुशील दा’ लाई अलि सन्चो थिएन। सायद दिक्षा दिदीले बेसारपानी दिनुभयो (सुशील दा हत्तेरी यस्तो पनि कसरी पिउनु भन्दै झर्किनु भयो)। जसले जसरी जे भने पनि उहाँलाई २०६४ को निर्वाचन हारेको ठूलो चोट थियो। ‘सुशील दा’ स्वयं भन्नुहुन्थ्यो कि, ‘चुनावमा हार-जित स्वाभाविक हो। तर, कुनै चुनाव ऐतिहासिक हुन्छन्, हार्नुले भूमिका गौण बनाइदिन्छ।’
त्यो दिनको छलफलमा मैले एकपटक विजय गुप्ताजीलाई पनि भेट्नुस है भन्ने सल्लाह दिएँ। डाक्टर साप (स्व। डा. अरुण कोइराला) ले मेरो हात च्याप्प समात्नुभयो। छेवैमा पार्टी सभापति कृष्णमान श्रेष्ठ पनि हुनुहुन्थ्यो। उहाँ टेलिफोनमा व्यस्त हुनुहुन्थ्यो। ‘सुशील दा’ केही बेर चुपचाप बस्नुभयो। पछि, लौ भेट्ने समय मिलाउ भन्ने जवाफ दिनुभयो। भोलिपल्ट त्रिभुवन चोकमा पान खाएर हामी विजय दाइलाई खोज्दै हिँड्यौं। विजय दाइ र ‘सुशील दा’ को एउटा पसलमा भेट भयो। दुवैजनाले अंकमाल गरे अनि दुवैजनाका गला अवरुद्ध भए। केही बेरको कुराकानी पछि एकअर्कालाई चुनाव जित्नुहोला भन्ने शुभकामना दिए दुवैजनाले। दुवैका आँखा रसाएका पनि थिए। अनि सुरु भयो चुनाव प्रचार।
२०६४ सालमा चुनाव हारेपछि उहाँले कार्यवाहक सभापतिको पदबाट राजीनामाको घोषणा गरेर नेपालगञ्जबाट काठमाडौं फर्कनुभयो।
एकदिन महाराजगञ्जमा गिरिजाबाबुले केही विषयमा छलफल गर्नु छ भनेर ‘सुशील दा’ लाई बोलाउनु भएछ। राजीनामाका विषयमा छलफल भएछ। सुशील कोइराला त्यहाँ पुग्दा उहाँले कार्यवाहक सभापति पदबाट दिएको राजीनामा स्वीकृत गर्नुपर्ने र गर्नुहुँदैन भन्ने खेमा स्पष्ट देखिए।
‘सुशील दा’ ले नैतिक रुपमा दिइएको राजीनामा फिर्ता नलिने भन्ने कुरा राखेर हिँड्नुभयो। पछि, गिरिजाबाबुले राजीनामा स्वीकार्नु त भएन तर, त्यो विषयमा आफ्नै दल त्यसमाथि पनि आफ्नै ‘लाइन’ का साथीहरुको भनाई उधृत गर्दै ‘सुशील दा’ ले बुद्धनगरमा ‘सत्ताले साथी गुमाइँदो रहेछ’ भन्दै चित्त दुखेको कुरा सुनाउनुभयो।’
स्व. सुशील कोइराला सन् १९७३ को विमान ‘हाइज्याक’ र त्यसपछिको भारतको भूमिकालाई लिएर बेलाबखत सन्तुष्ट नभएको कुरा सुनाउनु हुन्थ्यो। खासगरि संविधानसभा २०७० को निर्वाचनको सेरोफेरोमा ‘सुशील दा’ सशंकित हुनुहुन्थ्यो। किनभने, २०६४ को निर्वाचनमा उहाँ तेस्रो बन्नुपरेको नराम्रो हारको पीडा थियो।
झण्डै २० वर्ष निर्वासित जीवन र करिब ६ वर्ष जेल जीवन बिताए पनि कोइरालाले संगठन र सत्ता मध्ये संगठनमा बसेर काम गर्ने रुची राखेको पाइयो।
कोइराला वि। सं। २०३४ सालपछि नेपाली कांग्रेसको केन्द्रीय समिति सदस्य, महामन्त्री र उपसभापति र कार्यवाहक सभापति हुँदै २०६६ सालको १२ औं महाधिवेशनबाट पार्टीको सभापतिमा बन्नुभयो।
पार्टी सभापति निर्वाचित भएपछिको भारत भ्रमणमा दिल्लीका केही भेटहरुमा म पनि सहभागी थिएँ। खासगरी कूटनीतिज्ञहरुसँगका भेटहरुमा। राजनीतिक भेटहरु ‘फिक्सड’ थिए। त्यसबीच हामीले ‘सुशील दा’ कै आग्रहमा त्यस्ता शर्ट र साइड भेटहरु तय गरेका थियौं।
बाँकेलाई कर्मथलो बनाएका स्व। कोइरालालाई एकथरी कांग्रेसीहरु बाँकेमा बाहिरबाट आएको भनेर हेप्थे पनि। त्यो क्रम प्रधानमन्त्री भएपछि पनि निरन्तर थियो। उहाँले चितवनबाट पनि निर्वाचन लड्ने घोषणा गर्दा बाहिरबाट आएको भन्नेहरु थप उत्साही हुँदै गल्ली र चौकमा रमाउँथे।
२०७० सालको चुनावमा कांग्रेस पहिलो दल बनेपछि कोइरालाको सत्तारोहणको बाटो खुल्यो। ‘सुशील दा’ जब प्रधानमन्त्री बन्ने पक्का भयो तब विभिन्न खाले ‘घेराबन्दी’ मा पर्न थाल्नुभयो। अविवाहित ‘सुशील दा’ को आफ्नै परिवार नभए पनि नजिकका पारिवारिक सदस्यबाट घेरिनु पर्यो। खासगरि आफ्नै सहयोगी र केही परिवारका सदस्यहरुबीच तालमेल नमिल्दा मानसिक रुपमा दबाबसमेत खेप्नु परेको थियो।
सादगी छवि बनाएका ‘सुशील दा’ को किचन क्याविनेटबाटै विभिन्न खाले दबाबहरुको सामना गर्नु पर्यो। संविधान जारी भएपछि ‘एक मिनेट पनि पदमा नबस्ने’ घोषणा गरेका ‘सुशील दा’ लाई उनका नजिकैकाले सत्ताको साँचो नछाड्न सुझाउन थाले।
संविधान जारीकै सेरोफेरोमा उहाँमाथि भारतलगायतका अन्तर्राष्ट्रिय समुदायको दबाब थियो। तत्कालिन भारतीय विदेश सचिव एस। जय शंकर नेपाल आउनु र त्यहीँको सेरोफेरोमा भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालको ‘कोईराला जी‘’ सम्बोधनको टिप्पणीले राजनीतिक दबाब परिरहेको थियो। उतिबेला एउटा अनुकुलता के थियो भने, एमालेका केपी शर्मा ओली र माओवादीका पुष्पकमल दाहालको सहयोग।
सत्ता हस्तान्तरणकै सवालमा पनि ‘सुशील दा’ लाई गुम्राहमा पारिएको कुरा एकपटकको भेटमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले सुनाएका थिए। ‘जेन्टलम्यान’ सहमतिमा ओलीलाई सत्ता हस्तान्तरण गरेर अघि बढ्ने सहमति भएकोमा उहाँलाई ‘लिगेशी’ लाई जोगाउने नाममा फेरि प्रधानमन्त्रीको उम्मेद्वारी दिन लगाइयो।
उपप्रधानमन्त्रीसहित सिटौलाले कांग्रेसबाट एमाले नेतृत्वको सरकारमा प्रतिनिधित्व गर्ने तयारीलाई रोक्न फेरि ‘सुशील दा’ लाई प्रधानमन्त्रीमा लडाइयो-कांग्रेस नेता सिटौला बेलाबखत सुनाउँछन्।
बिपी कोइरालासँग काम गरेका देखिको पुस्ताका एक कुशल संगठकका रुपमा ‘सुशील दा’ लाई सम्झन चाहन्छु।
बुद्ध एयरको अन्तिम सिटमा बसेर ५० मिनेट बिताएको त्यो क्षण साँच्चिकै ‘सुशील दा’ सँगको सम्झन योग्य लाग्ने क्षण हो मेरा लागि।
यो धमिलो फोटो त्यही ५० मिनेटको प्रमाण हो। ती ५० मिनेटमा तरुण पत्रिकाको सम्पादनदेखि विमान ‘हाइज्याक’ हुँदै हलिउडको मिथकका विषयमा विमानमै ‘सुशील दा’ ले जे जति सुनाउनुभयो त्यो म सँधै ‘मिस’ गरिरहन्छु।