बाँकेमा १५ जनालाई कोरोना देखिदा कोहलपुरका नौ जना परे
नेपालगञ्ज – बाँकेमा सोमबार २६ जनामा कोरोना देखिएको छ ।
कोरोना पुष्टि भएकामध्ये १५ जना बाँके जिल्ला निवासी छन् । कोहलपुरका ९, नेपालगञ्जका ४, बैजनाथ र जानकी गाउँपालिकाका एक-एक जनामा कोरोना देखिएको छ । चार जना बर्दिया र ७ जना अन्य जिल्लाका रहेका छन् ।
जिल्लाका तीन वटा ल्याबमा एक सय ५२ जनाको परीक्षण गरिएको थियो । भेरी अस्पतालमा ८९ जनाको परीक्षण गर्दा १२ जना, कोहलपुर मेडिकल कलेजमा ३७ जनामा ११ जना र बागेश्वरी ल्याबमा २६ जनाको परीक्षण गर्दा तीन जनामा कोरोना पुष्टि भएको हो ।
बाँकेमा केही दिनयता अलिअलि गर्दै कोरोना संक्रमित थपिरहेका छन् । जिल्लामा अहिले ८२ जना सक्रिय संक्रमित रहेका छन् । अस्पतालमा १५ जना सिकिस्त, २२ जना मध्यम र ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । बाँकेमा सोमबार ५ जना डिस्चार्ज भएका छन् ।