सिमसिमे पानीमै डुवान, हिडिनसक्नु दुर्गन्ध
नेपालगञ्ज – शनिबार अपरान्ह पाँच बजेतिर एकछिन पानी प¥यो । पानी खासै ठूलो परेको थिएन । सिमसिमे नै थियो ।
नेपालगञ्ज उपमहानगरपालिका कार्यालय परिसरसँगै जोडिएको मुक्तिपुर रोडमा डुवान देखियो । सुनाखरी होटल अगाडि एकैछिनमा हिड्नै नसकिने अवस्था आयो । यो सडक खण्डको त्यहाँ दश मिटरजति पिच गरिएको छैन । सिमसिमे पानी परेपनि त्यहाँ डुवान भइहाल्छ । हिड्डुल गर्न नै समस्या पर्ने गर्दछ ।
नेपालगञ्ज उपमहानगरपालिकाको पश्चिम पर्खालसँगै जोडिएको ठाउँको अवस्था यस्तो छ । बजारमा एडीबीले बनाइदिएको सडकलाई आफूले बनाएको भनेर ‘फूर्ति’ देखाउने स्थानीय सरकारका प्रमुखले आफ्नै कार्यालय परिसरसँगै जोडिएको सडकको यस्तो दुर्दशा किन नहेरेका होलान् भुक्तभोगीहरु बताउने गर्दछन् ।
यो सडक खण्डको नाली सफा गरेको पाइदैन । नाली पनि दुर्गन्धित रहेको छ । शनिबार अपरान्ह परेको सानो पानीमै बाहिर तलाउ बन्दा ढलको दुर्गन्धले हिडिसाध्य थिएन । उपमहानगरपालिका कार्यालय परिसरछेउ अर्थात नगर प्रमुख बस्ने क्वाटरको नजिकै पर्ने भएकाले मेयर सा‘पले त्यो दुर्गन्ध थाहा पाएको हुनुपर्छ । नगर प्रमुख, वडा प्रमुखले यो सडकको त्यो खण्डका बारेमा केही सोचि दिने हो कि ?