३१ जना कोरोना संक्रमित थपिए, दुईको मृत्यु

नेपालगञ्ज – बाँकेमा ३१ जना कोरोना संक्रमित थपिएका छन् । तीन वटा ल्याबमा एक सय ६९ जनाको परीक्षण गर्दा ३१ जनामा कोरोना देखिएको हो । तीमध्येमा नौ जना बाँकेका रहेका छन् ।
भेरी अस्पतालमा एक सय ७ जनाको परीक्षण गर्दा २४ जना, कोहलपुर मेडिकल कलेजमा ३१ जनामा ३ र बागेश्वरी ल्याबमा ३१ जनाको जाँच गर्दा ४ जनालाई कोरोना पुष्टि भएको हो । जिल्लामा ६७ जना सक्रिय संक्रमित रहेका छन् । अस्पतालहरुमा १५ जना सिकिस्त, ३१ जना मध्यम र ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
नेपालगञ्जमा बाहिरी जिल्लाबाट उपचार गराउन आउदा मृत्यु हुने क्रम रोकिएको छैन । आइतबार राती र सोमबार दिउँसो गरेर दुई जनाको भेरी अस्पतालमा मृत्यु भएको छ । बाजुराको बुढिनन्दा नगरपालिका वडा नं. ७ का ६२ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको हो । असार १७ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । बर्दिया गुलरिया नगरपालिका वडा नं. ४ का ५९ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । असार २० गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । उनको सोमबार दिउँसो २.३० बजे मृत्यु भयो ।


error: यो सुविधा उपलब्ध छैन !