निषेधाज्ञालाई ३१ गतेसम्म निरन्तरता

नेपालगञ्ज – पसल व्यवसायी विहान नौ देखि बेलुका सात बजेसम्म सञ्चालन हुने गरी बाँके जिल्लामा निषेधाज्ञालाई निरन्तरता दिइएको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले असार ३१ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिइएको बताउनुभयो । उहाँले कोरोनाको संक्रमण दर क्रमशः घट्दै गएपनि अझै जोखिम नै रहेको बताउनुभयो ।
शैक्षिक संस्था, सबै प्रकारको सभा, प्रदर्शन, भेला तथा सम्मेलन, सिनेमा हल, फन पार्क, पार्टी प्यालेस, क्यासिनो, दोहोरी, जिम खाना, लामो दुरीको सवारी साधन, अत्यावश्यक बाहेक जिल्ला प्रवेशमा रोक लगाइएको छ ।
नेपालगञ्जमा बैशाख ९ र जिल्लाभरी बैशाख १३ गतेदेखि निषेधाज्ञा लगाइएको छ । पसल व्यवसाय सञ्चालनको अवधि भने बढाउदै लगिएको छ ।
जिल्लामा कोरोना संक्रमण घटेको छ । मृत्यु रोकिएको छ । अस्पतालहरुमा कोरोनाका लागि छुट्याइएको ८८ प्रतिशतसम्म बेड खाली भएका छन् । निषेधाज्ञाको औचित्य छैन भन्ने आवाज बाक्लो हुँदै गएपनि स्थानीय प्रशासनले निषेधाज्ञालाई निरन्तरता दिइरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !