अति विपन्नलाई खाद्यान्न सहयोग

नेपालगञ्ज – कोरोना प्रभावित अति बिपन्न परिवारलाई रुम टु रिडले खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
कोहलपुर नगरपालिकाको समन्वयमा खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग कार्यक्रम अन्तर्गत रुम टु रिडले सो सामाग्री सहयोग गरेको हो ।
एक कार्यक्रमका बीच कोहलपुर नगरपालिकाका शिक्षा प्रमुख अनन्त कुमार पौड्याल, रुम टु रिडका बरिष्ठ लेखा तथा प्रशासन सहायक शिवराज आचार्य, कार्यक्रम सहायक बसन्ती शाही लगायतले सो सामाग्री हस्तान्तरण गर्नुभएको थियो । कोहलपुर नगरपालिकाका बिभिन्न वडामा रहेका अति बिपन्न २९ घरपरिवारलाई सो सामाग्री सहयोग गरिएको रुम टु रिडका बरिष्ठ लेखा तथा प्रशासन सहायक आचार्यले बताउनुभयो । मंगलबार नै बैजनाथ गाँउपालिकाका १६ र राप्तीसोनारी ढकेरीका १० जना अति बिपन्न घरपरिवारलाई पनि सो सामाग्री सहयोग गरिएको आचार्यले जानकारी दिनुभयो । वितरण गरिएको सामाग्रीमा प्रत्येक घर परिवारलाई २५ किलो चामल, ५ किलो दाल, २ लिटर खाने तेल, २ किलो नुन, २ किलो च्युरा, ६ वटा साबुन र ५० थान मास्क रहेको कार्यक्रम सहायक बसन्ती शाहीले जानकारी दिनुभयो । सो अवसरमा बोल्दै शिक्षा प्रमुख पौड्यालले कोभिडले गर्दा अतिनै प्रभावित भै समस्यामा परेका घर परिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरेर रुम टु रिडले प्रशंसनीय काम गरेको बताउनुभयो । त्यसैगरि बाँकेकै खजुरामा बसोबास गर्ने अति बिपन्न १५ घर परिवारलाई पनि बुधबार खाद्यान्न तथा स्वास्थ्य सामाग्री प्रदान गरिने रुम टु रिडले जनाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !