वडा नं. १ को भेलामा मागैमाग

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ ले आर्थिक वर्ष २०७८-८९ का लागि वडा योजना प्रस्ताव भेला गरेको छ ।
२ करोड १६ लाख २२ हजारको बजेट रहेको वडा नं. १ का अध्यक्ष प्रमोद रिजालले आगामी वर्षका लागि भौतिक विकास (नालीसहितको कालोपत्रे सडक, पीसीसी सडक र माटो पटान तथा ग्राभेल), खेलकुद विकास, वातावरण संरक्षण हरियाली सौन्दर्यकरण तथा फोहोरमैला व्यवस्थापन, सडक बत्ती व्यवस्थापन तथा सौन्दर्यकरण, विपद व्यवस्थापन, आय आर्जन तथा आत्मनिर्भरता, उपलब्धीहरुको दस्तावेजीकरण, सामाजिक, सांस्कृतिक र धार्मिक क्षेत्रको विकास, सार्वजनिक सम्पतिको संरक्षण र कार्यालय व्यवस्थापनलाई प्राथमिकीकरणमा राख्नु भएको छ ।
नयाँ योजनाहरुको छनौट र समयावधिभित्रै सम्पन्न गर्ने बताउनु भएका अध्यक्ष रिजालले आफ्नो कार्यकालमा प्रत्येक टोलमा कम्तीमा एउटा नालीसहितको कालोपत्रे सडक निर्माण गर्ने, सबै टोलमा पानी र हिलोरहित बाटाहरु निर्माण गर्ने प्रतिबद्धता पूरा गर्दै अघि बढेको बताउनुभयो ।
अध्यक्ष रिजालले संघ, प्रदेश र स्थानीय सरकारसँगको समन्वय र सहयोगमा स्वास्थ्य चौकी तथा वडा कार्यालय भवन, वाटरपार्क निर्माण तथा सौन्दर्यकरण, स्पोर्टस एकेडेमी, कालोपत्रे तथा पीसीसी बाटोहरु बनाइसकेको बताउनुभयो । उहाँले वातावरण हरियाली र सरसफाईका क्षेत्रमा समेत उल्लेख कार्य गरेको बताउदै सडकको दुवै छेउमा फूलहरु रोप्ने र संरक्षण गर्ने, घरमा उठेको फोहोरलाई व्यवस्थापन गनै ट्याक्टर सञ्चालन, पुराना मठ मन्दिरको जिर्णोद्वार, सार्वजनिक जग्गा र मन्दिरको जग्गा संरक्षणका लागि तारबार तथा सडक बत्ती व्यवस्थापन गरेको बताउनुभयो ।
विश्व नै आक्रान्त बनेको कोभिडविरुद्धको लडाईमा आफूहरु पनि सक्दो तरिकाले लागेको उल्लेख गर्दै अध्यक्ष रिजालले ‘कोरोनाविरुद्ध घरघरमा डाक्टर’ अभियान सञ्चालन गरेर ९० घरका एक सय १५ जनालाई निशुल्क जाँच तथा औषधी उपचार गरेको बताउनुभयो ।
भेलामा उपस्थित भएका विभिन्न टोलका व्यक्तित्वहरुले आफ्नो समस्या, माग राखेका छन् । टोलटोलका व्यक्तित्वहरुले राखेको माग, समस्या र सुझावलाई वडा कार्यालयले टिपेको छ । प्रायः सबैको माग सडक मर्मत, ग्राभेल, पिच, नाली निर्माण, खानेपानी व्यवस्थापन, केही ठाउँमा प्रहरी बिट राख्नुपर्नेलगायत कोरोनाविरुद्धको खोप उपलब्ध गराउन पहल गर्नुपर्ने थियो ।
वडाध्यक्ष रिजालले टोलटोलबाट आएका समस्या र सुझावलाई सक्दो सम्बोधन हुने जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !