ओलम्पिक डेमा खेलकुदको चर्चा
नेपालगञ्ज – नेपालगञ्जमा ओलम्पिक डेको अवसरमा खेलकुदको चर्चा गरिएको छ ।
क्रियटिभ ह्याण्डसका अध्यक्ष टीएस ठकुरीको संयोजनमा नेपालगञ्जमा प्रदेश सांसददेखि खेलकुद पदाधिकारीले ओलम्पिक डेको अवसरमा नेपालगञ्जको खेलकुदको चर्चा गरेका हुन् ।
प्रदेश सांसद कृष्णा केसी नमूनाले महिला सशक्तिकरणका लागि नेपालगञ्जमा हुँदै आएको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता र नेपालगञ्ज म्याराथनले नेपालगञ्जको मात्रै नभएर देशकै खेलकुदमा योगदान पु¥याएको बताउनुभयो । पछिल्लो दुई वर्षदेखि प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको मूल आयोजक समितिको संयोजक रहनु भएकी प्रदेश सांसद नमूनाले अबका दिनमा यस प्रतियोगितामा अन्तर्राष्ट्रिय टीमको सहभागिता बढाउने बताउनुभयो ।
‘दश वर्ष महिला सशक्तिकरणकै लागि हामी लडेका हौ । महिला शसक्तिकरणको सवालमा म सानो पदमा रहेर पनि काम गर्न चाहन्छु, प्रदेश सांसद नमूनाले भन्नुभयो, प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको मूल आयोजक समितिको संयोजक भएर काम गर्दा मलाई सन्तुष्टि मिलेको छ ।’
क्षेत्रीय खेलकुद विकास समितिका पूर्वअध्यक्ष भीम वलीले नेपालगञ्ज म्याराथन र प्रधानमन्त्री महिला भलिबल प्रतियोगिताले उचाई लिदै गएको बताउनुभयो । ‘प्रधानमन्त्री महिला भलिबल र नेपालगञ्ज म्याराथनमा विदेशीको सहभागिता बढाउदै जाने रणनीति बनाइरहेका छौं, यी दुई प्रतियोगिताले नेपालगञ्जलाई नेपालमात्रै नभएर विश्वमै चिनाइरहेको छ, वलीले भन्नुभयो, नेपालगञ्ज म्याराथनबाट छानिएका गोपीकृष्ण पार्की ओलम्पिकमा छानिएका छन् । यसबाटै नेपालगञ्ज म्याराथनको उचाई झल्किन्छ ।’
नेपाल पत्रकार महासंघ, बाँकेका अध्यक्ष दामोदर भण्डारीले क्रियटिभ ह्याण्डसले रचनात्मक काम गरिरहेकाले आफ्नो तर्फबाट पूर्ण साथ रहने प्रतिबद्धता गर्नुभयो ।
क्रियटिभ ह्याण्डसका अध्यक्ष टीएस ठकुरीले सबैको साथ र सहयोगले गर्दा प्रधानमन्त्री महिला भलिबल र नेपालगञ्ज म्याराथनले नेपालगञ्जलाई चिनाउने काम भइरहेको बताउनुभयो । उहाँले आफूहरुले दिग्गज व्यक्तित्वहरुको बारेमा कितावको काम समेत गरिरहेको उल्लेख गर्दै यो वर्ष केही प्रकाशनको तयारीमा रहेको जानकारी दिनुभयो ।
मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति प्रदेश नं. ५ का कार्यालय प्रमुख महेश चन्द, एथलेटिक्सका मुख्य प्रशिक्षक एवं धारा नेपालगञ्ज म्याराथनका रेस डाइरेक्टर चन्द्र गुरुङ, एथलेटिक्सका पूर्व मुख्य प्रशिक्षक विक्रम थापा, प्रशिक्षक हृदयचन्द्र मास्केलगायतले उपस्थितिमा ओलम्पिक डेसँगै पत्रकार जनक नेपालको जन्म दिनको अवसरमा केक काटिएको थियो ।
सो अवसरमा क्रियटिक बुक्सले प्रकाशन गरेको खेलकुदका दुई वटा किताव ओलम्पियन र कप्तान १९९८ मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति प्रदेश नं. ५ का कार्यालय प्रमुख महेश चन्दलाई उपहार दिइएको थियो । क्रियटिक बुक्सले सात वटा किताव प्रकाशन गरिसकेको छ ।