‘ड्रपआउट’ विद्यार्थीलाई सुविधा दिएर टिकाउने खजुराको रणनीति
नेपालगञ्ज – एक सर्वेक्षणका अनुसार खजुरा गाउँपालिकामा सात प्रतिशत बालबालिका विद्यालय भन्दा बाहिर छन् । विद्यालय बाहिर रहेका अधिकांश बालबालिका विचैमा विद्यालय छोडेको (ड्रपआउट) मा पर्छन् ।
सात प्रतिशत अर्थात एक हजार एक सय १९ जना बालबालिकालाई पुनः विद्यालय प्रवेश गराएर टिकाई राख्न खजुरा गाउँपालिकाले नयाँ रणनीति बनाएको छ । ‘समता रणनैतिक कार्यान्वयन योजना’ बनाएर गाउँपालिका ड्रपआउट विद्यार्थीलाई स्कूलमा भित्र्याएर टिकाइ राख्ने गरी लागि परेको शिक्षा शाखाका प्रमुख खगेन्द्र मल्लले जानकारी दिनुभयो ।
खजुराले रणनैतिक योजना कार्यान्वयनका लागि एघार लाख रुपैया छुट्याएको छ । खजुराको यो रणनीतिलाई संघीय सरकारले पनि सपोर्ट गरेको छ । संघले त्यसका लागि १३ लाख रुपैया पठाइदिएको छ ।
शिक्षा शाखा प्रमुख मल्लले पारिवारिक सर्वेक्षण गरेर विद्यालय बाहिर रहेका बालबालिकाको तथ्यांक निकालिएको जानकारी दिनुभयो । कोरोनाले गर्दा घरदैलो गरेर भर्ना गर्ने अभियान प्रभावित भएको छ । असार १ गतेदेखि बैकल्पिक प्रणालीबाट पढाउने तयारी भइरहेको छ । विद्यालय बाहिर रहेका बालबालिकाको तथ्यांक आइसकेकाले उनीहरुलाई विशेष सुविधा दिएर विद्यालय प्रवेश गराउने तयारी भएको मल्लले बताउनुभयो । ‘अरुले चार सय रुपैया छात्राबृत्ति पाउँछन्, अहिले विद्यालय बाहिर रहेकालाई एक हजार रुपैयासम्म दिन सकिन्छ, मल्लले भन्नुभयो, जसरी पनि उनीहरुलाई विद्यालय प्रवेश गराउने र टिकाउने अभियानमा लागेका छौं ।’
खजुरामा ६४ वटा विद्यालय छन् । १८ हजार बढी विद्यार्थी छन् । यसमा सरकारी विद्यालयमा पढ्ने १३ हजार छन् ।
खजुराले अर्को राम्रो काम भनेको विद्यार्थी अनुपातमा शिक्षकको व्यवस्थापन गरिरहेको छ । जिल्लामै पहिलो पटक खजुरा गाउँ शिक्षा पञ्च वर्षीय योजना तयार गरेको गाउँपालिकाले ४० जना विद्यार्थी बराबर एक जना शिक्षक हुनुपर्ने मापदण्ड बनाएको छ । संघीय हिसावमा ५० जना विद्यार्थी बराबर एकजना शिक्षक पर्छन् । पञ्च वर्षीय योजनाअन्तर्गत पालिकाले २५ जना शिक्षक करारमा लिएर दरबन्दी नभएका विद्यालयमा पठाएको छ । एकजना शिक्षक बराबर ४० जना भन्दा बढी विद्यार्थी भएको स्कूललाई पालिकाले अनुदान दिने र त्यसबाट शिक्षक नियुक्ति गर्ने प्रवन्ध मिलाइएको छ । मदरसासहित ३४ वटा विद्यालयमा ३० लाख अनुदान निकासा गरिदैछ । गाउँपालिकाले अनिवार्य निशुल्क शिक्षा चलाउन ३७ लाख ८८ हजार छुट्याएको छ ।
पालिकाले विभिन्न स्कूलहरुलाई भवन, शौचालय निर्माणदेखि आइटी ल्याब, शैक्षिक गुणस्तरीय कार्यक्रमअन्तर्गत विभिन्न सहयोग गरेको छ । शिक्षा शाखाका प्रमुख मल्लका अनुसार, योगिनी मावि र शुक्र माविमा ३६÷३६ लाख रुपैयामा भवन बनेको छ । पानी ट्यांकीसहितको तीन वटा स्कूल आदर्श मावि, डीगाउँ, अम्बेमाता प्रावि, बुद्धपुर र जनकल्याण मावि, उढरापुरमा शौचालय बनेका छन् । प्रदेशले पशुपति मावि, घिया, आदर्श मावि, डीगाउँ, जनसेवा मावि, पुरैना, दुई वटा मदरसालाई दुई कोठे भवन र शौचालय बनाउन ८० लाख रुपैया दिएको छ ।
नमूना विद्यालय सुधार योजनाअन्तर्गत ज्ञानोदय नमूना मावि र जनता नमूना माविलाई भौतिक निर्माणका लागि एक÷एक करोड, नमूना विद्यालय शैक्षिक तथा व्यवस्थापकीय योजना कार्यान्वयनका लागि कार्य सम्पादनका लागि ५०÷५० लाख अनुदानको व्यवस्था गरिएको छ । माध्यमिक विद्यालय पुस्तकालय स्थापना र इपुस्ताकालय स्थापना गर्न ज्ञानोदय, योगिनी मावि, अमर माविलाई ६ लाख ५० हजार निकासा, आइटी ल्याब स्थापनाका लागि जनता नमूना मावि, नेरा तिर्खा प्राविलाई ६ लाख ५० हजार निकासा गरिएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा १३ वटा स्कूललाई एक करोड ८४ लाख ५० हजार परेको छ । कम्प्यूटर ल्याबका लागि ज्ञानोदय नमूना माविलाई २५ लाख छुट्याइएको छ । शिक्षामा नविनतम प्रविधिको प्रयोग गर्न नेरा तिर्खा प्राविलाई एक करोड ८४ लाख ५० हजार परेको छ ।